अन्तराष्ट्रिय

टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालको पहिलो जित

By admin

January 24, 2026

काठमाडौँ । कीर्तिपुर क्रिकेट रङ्गशालामा सञ्चालन भइरहेको आइसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालले पहिलो जित हात पारेको छ।

 

शनिबार नेपालले जिम्बाब्बेलाई छ विकेटले पराजित गरेको हो। टेस्ट राष्ट्रसँगको पहिलो पटकको खेलमै नेपाल जितको स्वाद चाख्न सफल भयो। यो जितसँगै नेपालको सूपर सिक्समा प्रवेश गर्ने आशा भने कायम रहेको छ।

 

नेपालले यसअघिका दुई खेलमा थाइल्यान्ड र नेदरल्यान्ड्ससँग पराजय भोगेको थियो। अब नेपालले लिगको अन्तिम खेलमा सोमबार स्कटल्यान्डसँग खेल्नेछ। उक्त खेलको परिणामले नेपालको सूपर सिक्सको यात्रा तय गर्नेछ।

 

आज टस हारेर ब्याटिङ पाएको जिम्बाब्बेले पूरा ओभर खेलेर ६ विकेटको क्षतिमा १२९ रन बनाएको थियो। जवाफमा नेपालले उपकप्तान पूजा महतोको अविजित ५२ रनको अर्धशतकीय पारीसँगै १९औँ ओभरमा ४ विकेट गुमाउँदै जित हात पार्‍यो।

 

जिम्बाब्बेका लागि केलिस नोड्लोभुले खेलेको अविजित ५२ रनको पारी सम्झनायोग्य थियो। नेपाली बलर कविता कुँवरले खेलको पहिलो ओभरमा नै चिपो ट्रिपानोलाई कसिकसाउ बलिङ गर्दै बोल्ड गरेकी थिइन्।

 

त्यसपछि विपक्षीलाई मध्यम स्कोरमा समेट्न रिया शर्माले २ विकेट लिइन् भने कवितासहित सीता रानामगर, रुविना क्षेत्री र पूजा महतोले १-१ विकेट लिएकी थिइन्।

 

१० राष्ट्रबीच दुई समूहमा सञ्चालन भइरहेको खेलमा नेपालको समूहबाट द नेदरल्यान्ड्स सूपर सिक्समा प्रवेश गरिसकेको छ भने जिम्बाब्बे सबै चार वटा खेल हारेर प्रतियोगिताबाट बाहिरिइसकेको छ।