शनिश्चरे । अर्जुनधारा नगरपालिका ८ मा रहेको शनिश्चरे माध्यमिक विद्यालयले विभिन्न व्यक्तित्वलाई सम्मान तथा विद्यार्थीलाई पुरस्कृत गर्दै ७८औँ वार्षिकोत्सव बिहीबार सम्पन्न गरेको छ ।
विद्यालय प्राङ्गणमा बिहीबार आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीप्रसाद ओलीको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
वार्षिकोत्सवको अवसरमा विद्यालय प्राङ्गणमा संस्थापक प्रधानाध्यापक शिवप्रसाद दाहालको अर्धकदको शालिक निर्माण गर्ने एसएलसी ब्याच-२०४७, विद्यार्थीलाई न्यानो कपडा वितरण गर्ने एसएलसी ब्याच-२०६९, शैक्षिक अध्ययन अवलोकन भ्रमणमा सहयोग गर्ने दातृ संस्था जुकेखाडी सामुदायिक वन उपभोक्ता समूह, शान्ति सामुदायिक वन उपभोक्ता समूह तथा विभिन्न दाताहरुलाई सम्मान गरिएको थियो ।
त्यसैगरी विद्यालयमा अक्षयकोष दाताहरुबाट स्थापना गरिएका विभिन्न पुरस्कारमार्फत जम्मा २४ जना विद्यार्थी पुरस्कृत भएका थिए । हरिविलास वन स्मृति पुरस्कार, लोकनाथ-हेमकला वृत्ति पुरस्कार, रुद्र तोरण स्मृति पुरस्कार, खगेन्द्र-विभा वृत्ति पुरस्कार, विष्णु-सेमन्ता श्रेष्ठ स्मृति पुरस्कार, दुबसु विद्या पुरस्कार-२०८१, २०४७ ब्याच समूहद्वारा स्थापित मोहन जोशी स्मृति पुरस्कार तथा कक्षा-१२ का नगर उत्कृष्ट र विद्यालय उत्कृष्ट पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा हालै सम्पन्न नगरस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीहरुलाई क्रमशः दुई हजार, एक हजार पाँच सय र एक हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको थियो । शनिश्चरे मावि लगातार तीन पटक राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा नगर च्याम्पियन बन्न सफल भएको विद्यालय हो ।
यस वर्षको उत्कृष्ट शिक्षक पुरस्कारबाट शिक्षक चम्पा प्याकुरेललाई सम्मानपत्र, नगद पुरस्कार, मायाको चिनो तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक विनोदकुमार गौतमले विद्यालयको भावी रणनीतिसहित शैक्षिक तथा व्यवस्थापकीय पक्ष समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुले पीटी प्रदर्शन, राष्ट्रिय सेवा दल शनिश्चरे माध्यमिक विद्यालयको एरोबिक्स प्रदर्शन, गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष डिल्ली राम दाहाललगायतले मन्तव्य राखेको कार्यक्रममा अर्जुनधारा-९ का वडाध्यक्ष भीष्म मिश्र, अर्जुनधारा नगर कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक कौशिलाल परियार, नगर सभा सदस्यद्वय सरु बुढाथोकी र हरिबहादुर कटुवाल, अक्षयकोष दाताहरु किरण वन, खगेन्द्र ढकाल, पुष्प ओझा, लवकुश गिरी, लोकनाथ पौडेल, चित्रकला पौडेललगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक रुद्र खतिवडाले स्वागत मन्तव्य राखेका थिए भने शिक्षक जीवन धितालले स्वागत गीत प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक कपिलदेव तिम्सिनाले गरेका थिए ।