अर्थ बजार

झापामा ८ लाख बढीको चाइनिज स्याउ बरामद, भारत लाने तयारी विफल

By admin

April 29, 2026

झापा । झापामा अवैधरूपमा भारत लैजान लागिएको ठूलो परिमाणको चाइनिज फुजी स्याउ बरामद गरिएको छ । मंगलबार दिउँसो करिब साढे १२ बजेको समयमा झापा गाउँपालिका–१ सालमारास्थित जालिम मियाको घर पछाडि लुकाइछिपाइ राखिएको १०४ कार्टुन (करिब २ हजार ८० केजी) स्याउ बरामद गरेको हो ।

 

उक्त स्याउ नेपालबाट अवैधरूपमा भारततर्फ लैजान तयारी अवस्थामा लुकाइछिपाइ राखेको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल बीओपी टाघनडुब्बा र इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको संयुक्त टोलीले छापा मारेर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

स्याउको अनुमानित बजार मूल्य ८ लाख ४० हजार रुपैयाँ रहेको जनाइएको छ। बरामद गरिएको स्याउ आवश्यक प्रक्रिया पूरा गरी भन्सार बुझाइएको छ ।

 

संयुक्त प्रहरी टोलीले स्याउ बरामद गरेसँगै तस्करको योजना विफल भएको छ । भद्रपुर नाकाबाट चाइनिज फर्सीको बिउँ तस्करी हुने गरेको घटना सेलाउन नपाउँदै स्याउ तस्करीको अर्को घटना बाहिर आएको हो ।