खेलकुद

अर्जुनधारामा वैशाख २६ गते आमन्त्रित कराते प्रतियोगिता हुने

By admin

April 30, 2026

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका ९ स्थित बाह्रघरे सितोरियो कराते डोजोको आयोजनामा यही वैशाख २६ गते प्रथम उपप्रमुख कप अन्तराष्ट्रिय आमन्त्रित कराते प्रतियोगिता २०८३ हुने भएको छ ।

 

स्थानीय गार्गी वाङमय प्रतिष्ठानको खेलमैदानमा सञ्चालन हुने उक्त प्रतियोगिता स्थानीयस्तरमा कराते खेलको प्रबद्र्धनसँगै खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।

 

झापा जिल्ला कराते महासंघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका चार सय जनाभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने डोजो व्यवस्थापन समितिका सचिव एवम् प्रमुख प्रशिक्षक हेमलाल परियारले जानकारी दिए ।

 

सचिव परियारका अनुसार प्रतियोगिताअन्तर्गत पुरुष र महिलातर्फ समान २५ केजी, ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी र ६५ प्लस केजीमा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले मेडल र प्रमाण पत्रसँगै उत्कृष्ट डोजोले ट्रफी प्राप्त गर्ने छन् ।

 

प्रतियोगिता सम्पन्न गर्न अनुमानित पाँच लाख रुपैयाँ लाग्ने बताइएको छ । उक्त रकम वडा कार्यालय, नगरपालिकाको कार्यालय, दाताहरुसँग समन्वय गर्ने बताइएको छ ।

 

डोजो व्यवस्थापन समितिका अध्यक्ष नारदमणि नेपालको अध्यक्षतामा आयोजित कार्यक्रममा अर्जुनधारा ८ का वडाध्यक्ष एवम् एसीयन कराते रेफ्री कुमारप्रसाद उप्रेती र अर्जुनधारा ९ का वडाध्यक्ष भीष्म मिश्रले प्रतियोगिता सम्पन्न गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अध्यक्ष नेपालले प्रतियोगिताको औचित्य माथि प्रकाश पारेको उक्त कार्यक्रमको सञ्चालन डोजोका सचिव परियारले गरेका थिए ।