खेलकुद

बिर्तामोड भेट्रान्स फुटबलमा मेचीनगरको विजयी सुरूवात

By admin

May 04, 2026

बिर्तामोड । झापाको बिर्तामोडमा जारी चौथो बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगितामा आज मेचीनगर भेट्रान्स क्लबले विजयी सुरूवात गरेको छ ।

 

डोमालाल राजवंशी रंगशालामा भएको खेलमा मेचीनगरले कनकाइ भेट्रान्सलाई १-० गोलको झिनो अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । खेलको २३औँ मिनेटमा पूर्ण लिम्बूले गरेको गोलनै निर्णायक बनेको थियो ।

 

उनी प्लेयर अफ दी म्याच बन्दै नगद १ हजार ५ सय पाउन सफल भए । उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले नगदसहित ट्रफी प्रदान गरे ।

 

यसअघि भएको खेलमा धरानको स्काई क्लबले चन्द्रगढी भेट्रान्स क्लबलाई टाइब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । तर, चन्द्रगढीले आयोजकसमक्ष विरोधपत्र हालेपछि खेलको नतिजा सार्वजनिक गरिएको छैन । छानविन भइरहेकाे बताइएकाे छ ।

 

जसमा चन्द्रगढीका लागि मित्र बस्नेतले खेलको ११औँ मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए । धरानका लागि सूर्य राईले पनि २६औँ मिनेटमा बराबरी गोल फर्काए । टाइब्रेकरमा भने धरान ५-४ गोलअन्तरले विजयी भएको थियो । जसमा धरानका सन्तोष राई प्लेयर अफ दी म्याच चुनिएका थिए ।

 

१० टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद १ लाख १ हजारसहित टर्फी पाउने छ भने उपविजेताले नगद ५१ हजारमा चित्त बुझाउनु पर्नेछ ।

 

बिर्तामोड भेट्रान्स एफसीका अध्यक्ष किरण थापाका अनुसार भोलि पनि दुई खेल हुनेछन् । प्रतियोगिताको प्रथम पुरस्कार फुटबलप्रेमी नेत्रनारायण श्रेष्ठले प्रायोजन गरेका हुन् ।