खेलकुद

चन्द्रगढी र आयोजक सेतो बिर्तामोड भेट्रान्स फुटबलको फाइनलमा

By admin

May 07, 2026

बिर्तामोड । आयोजक सेतो र चन्द्रगढी भेट्रान्स क्लब झापाको बिर्तामोडमा जारी चौथो बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

 

डोमालाल राजवंशी रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजक बिर्तामोड भेट्रान्स निलो टिमलाई १-० गोलले पराजित गर्दै चन्द्रगढीले फाइनलमा स्थान सुरक्षित गरेको हो । चन्द्रगढीका लागि सुबास खड्काले गरेको गोल नै निर्णायक बनेको हो । खेलको प्लेयर अफ दी म्याच चन्द्रगढीका गोलकिपर रुपक गुरुङ भए । उनले नगद १ हजार ५ सय पाए ।

 

आजै भएको अन्तिम सेमिफाइनल खेलमा दमक भेट्रान्स क्लबलाई ३-१ गोलले पराजित गर्दै आयोजक सेतोले फाइनलमा स्थान पक्का गरेको हो । आयोजकका लागि विशाल राई, भूपेन लिम्बू र कन्याज गुरुङले गोल गरेका हुन् ।

 

दमक भेट्रान्सका लागि भने दिपेन गिरीले सान्त्वना गोल गरेका हुन् । खेलको प्लेयर अफ दी म्याच आयोजक सेतोका विशाल राई भए । उनले नगद १ हजार ५ सय पाए । फाइनल खेल वैशाख २६ गते हुनेछ ।

 

१० टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद १ लाख १ हजारसहित ट्रफी पाउनेछ भने उपविजेताले नगद ५१ हजारमा चित्त बुझाउनु पर्नेछ । बिर्तामोड भेट्रान्स एफसीका कोषाध्यक्ष प्रेमकृष्ण श्रेष्ठका अनुसार प्रतियोगिताको प्रथम पुरस्कार फुटबलप्रेमी नेत्रनारायण श्रेष्ठले प्रायोजन गरेका हुन् ।