एजेन्सी । विश्वकप फुटबलअन्तर्गत समूह चरणका खेलमा पोर्चुगलले उज्बेकिस्तानमाथि ५–० को शानदार जित निकाल्दै समूह ‘के’ को शीर्ष स्थानमा उक्लिएको छ ।
खेलमा पार्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे । उनले खेलको छैटौँ र ३९औँ मिनेटमा गोल गरे । यससँगै रोनाल्डो विश्वकपका सबै ६ संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।
पोर्चुगलका लागि नुनो मेन्डेस, उज्बेकिस्तानका गोलरक्षक अब्दुभोहिद नेमातोभको आत्मघाती गोल, तथा राफाएल लियाओले थप गोल गर्दै टोलीलाई सहज जित दिलाए । यससँगै रोनाल्डोको विश्वकप गोल सङ्ख्या १० पुगेको छ, जसले उनलाई पोर्चुगलका लागि विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनाएको छ ।
त्यस्तै, समूह ‘एल’ अन्तर्गत इंग्ल्यान्ड र घानाबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । अमेरिकाको बोस्टन स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले ७९ प्रतिशत बल नियन्त्रणमा राखे पनि गोल गर्न सकेन । दुई खेलबाट चार अङ्क जोडेको इंग्ल्यान्ड नकआउट चरण नजिक पुगेको छ ।