समाज

झापामा छोरी करणी गरी जन्मिएको नवजात शिशुको हत्या आरोपमा बुबा पक्राउ

By admin

June 25, 2026

झापा । आफ्नै छोरीलाई जबरजस्ती करणी गरी जन्मिएको नवजात शिशुको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

 

झापा प्रहरीले नवजात शिशु कर्तव्य ज्यान तथा हाड्नाता करणी मुद्दाका प्रतिवादीलाई इलामबाट पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार २०८३ वैशाख २ गते परिवर्तित ठेगाना झिलझिले क्षेत्रमा रहेको खाली जमिनमा गाडिएको अवस्थामा नवजात शिशुको शव फेला परेको थियो। घटनाबारे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले अनुसन्धान थालेको थियो।

 

अनुसन्धानका क्रममा पीडित किशोरीले आफ्नै बुबाले आफूलाई जबरजस्ती करणी गरेको, त्यसबाट बच्चा जन्मिएको र बुबाकै सल्लाहमा नवजात शिशुको शव गाडिएको प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ।

 

घटनापछि आरोपित बुबा कामको सिलसिलामा रोल्पा गएको जानकारी पनि पीडितले प्रहरीलाई दिएकी थिइन्। प्रहरीले वैशाख २ गते नवजात शिशु कर्तव्य ज्यान र वैशाख १० गते हाड्नाता करणी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी झापा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो। तर, आरोपित घटनापछि फरार रहेका थिए।

 

प्राविधिक अनुसन्धानका क्रममा आरोपित रोल्पा जिल्लामा लुकीछिपी बसेको खुल्न आएपछि झापा प्रहरीले रोल्पा प्रहरीसँग समन्वय गरी खोजतलास थालेको थियो। त्यसक्रममा उनी विभिन्न स्थानमा लुक्दै हिँडिरहेको अवस्थामा विशेष सुराकीका आधारमा असार ३ गते इलामको सूर्योदय नगरपालिका-१० स्थित फिक्कल बजारमा रहेको मन्त्र होटलबाट पक्राउ परेका हुन्।

 

प्रहरीका अनुसार पक्राउ पर्दा आरोपित आफ्नी छोरीसँगै होटलमा बसिरहेको अवस्थामा फेला परेका थिए। उनलाई असार ४ गते इलाका प्रहरी कार्यालय झिलझिले ल्याइएको थियो। झापा जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

उक्त घटनाकी पीडित किशोरीलाई हाल आफन्त नेपाल, काँकडभिट्टामा राखिएको छ। जिल्ला प्रहरी कार्यालय झापाले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।