झापा । पुराना धार्मिक आकृति भएका सिक्का देखाई बहुमूल्य धातुको प्रलोभनमा पारेर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा झापा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विभिन्न स्थानबाट ठगी धन्दा चलाइरहेका उनीहरूलाई सिक्कासहित नियन्त्रणमा लिइएको हो । साउन १२ गते झापाकै बाह्रदशी गाउँपालिका ७ रूपचनबारी क्षेत्रमा भगवानको फोटो अंकित सिक्का देखाएर ठगी गर्दै हिँडेको सूचनाका आधारमा सुनसरीको इनरूवा ८ का ३५ वर्षीय साबिर मियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । निजको साथबाट ४ वटा सिक्का बरामद गरी थप अनुसन्धान अघि बढाइएको छ ।
यसैगरी, गत साउन ८ गते झापाको हल्दिबारी गाउँपालिका १ स्थित गोलधाप बजारमा एकतर्फ हनुमान र अर्कोतर्फ राम-सीताको आकृति भएको पुरानो तामाजस्तो देखिने सिक्का देखाएर सर्वसाधारणलाई ठगी गरिरहेको अवस्थामा भारतको गलगलिया निवासी ३१ वर्षीय नजबुल अंसारी र २४ वर्षीय सरफरोस मियालाई प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाले प्रलोभनमा पारी ठगी गर्ने गिरोह सक्रिय हुन सक्ने भएकाले सम्पूर्ण सर्वसाधारणलाई सजग रहन आग्रह गरेका छन् ।