मेचीनगर । झापामा सशस्त्रले प्रहरीले भन्सार छलीका लत्ताकपडासहित एउटा कार नियन्त्रणमा लिएको छ । प्रहरीले ३ लाख ३६ हजार ५ सय रुपैयाँबराबरको लत्ताकपडासहित कार नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल काँकडभिट्टाबाट खटिएको टोलीले आइतबार दिउँसो २ः५० बजे पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका– ७ स्थित जोरसिमल क्षेत्रबाट ३ बोरा लत्ताकपडासहित भारतीय नम्बर प्लेट भएको कार नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लुबी ०२ वाई ०८७२ नम्बरको कारलाई रोकेर चेकजाँच गर्दा भन्सार कागजात नभएका ३ बोरा र २० पोका लत्ताकपडा फेला पारेको थियो ।
नियन्त्रणमा लिएको कारको मूल्य २० लाख र लत्ताकपडाको मूल्य ३ लाख ३६ हजार ५ सय रुपैयाँ गरी जम्मा मूल्य २३ लाख ३६ हजार ५ सय मुल्याकंन कायम गरी मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको सशस्त्र प्रहरीले जनाएको छ ।