झापा । निवृत्त राष्ट्रसेवक समाज नेपाल अर्जुनधारा नगर समितिको अध्यक्षमा मुक्तिनाथ सुवेदी चयन भएका छन् । सामुहिक उद्धार तथा उपकार संघको सभाहलमा सोमबार सम्पन्न प्रथम अधिवेशनबाट तीन वर्षे कार्यकालको लागि अध्यक्षमा उनी सर्वसम्मत चयन भएका हुन् ।
समितिको उपाध्यक्षमा प्रसादकुमार कार्की, सचिवमा इन्द्रप्रसाद पौडेल, सहसचिवमा पदमबहादुर निरौला र कोषाध्यक्षमा दुर्गादेवी सुवेदी चयन भएका छन् ।
यसैगरी, समितिको सदस्यहरुमा पदम तामाङ, दीपक ओझा, विष्णु बाँस्कोटा, रणबहादुर बस्नेत, अविनारायण चौलागाई, लक्ष्मीप्रसाद दवाडी, श्यामकुमार थापा, यामनाथ भट्टराई र हर्षकुमार इङनाम चयन भएका छन् ।
निर्वाचन समितिका संयोजक कृष्णप्रसाद पौडेलका अनुसार अन्य थप पाँच जना सदस्य संस्थाको आगामी बैठकबाट मनोनित गरिने बताइएको छ । सोही अधिवेशनबाट कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा कमला कुँवर र नन्दकुमार शिवाकोटी सदस्य रहेको तीन सदस्य लेखा समिति सर्वसम्मत गठन भएको बताइएको छ ।
समाज तदर्थ समितिका अध्यक्ष शिवप्रसाद आचार्यको अध्यक्षता र समाजका केन्द्रीय सदस्य मुक्तिनाथ दाहालको प्रमुख आतिथ्यमा आयोजित उद्घाटन कार्यक्रममा १३९ जना आजीवन सदस्यलाई सदस्यताको प्रमाण पत्र वितरण गरिएको थियो ।
कार्यक्रममा समितिका सचिव इन्द्रप्रसाद पौडेलले संस्थाको वार्षिक कार्ययोजना तथा आयव्यय विवरणसहितको आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थामा आबद्ध १४७ जना सदस्यमध्ये ज्येष्ठ आजीवन सदस्य पुरुषतर्फ अर्जुनधारा-६ निवासी दुर्गाप्रसाद पौडेल र महिलातर्फ अर्जुनधारा-८ निवासी विन्दा विष्टलाई सम्मान पत्रसहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।