इलाम । इलाममा ट्रकमा फल्स बटम बनाई त्रिपालले छोपेर लुकाएर ल्याएको अवस्थामा १५ क्वीन्टल बढी गाँजा बरामद भएको छ ।
मंगलबार साँझ ६ः३५ बजे इलाम नगरपालिका ९ भञ्ज्याङस्थित मेची राजमार्गमा प्रहरी चेकिङ टोलीले राजदुवाली सडकको अवस्थाका कारण डाइभर्सन गर्ने क्रममा ना. ४ ख ८९९६ नम्बरको फुलबडी ट्रकबाट त्रिपालले छोपेको अवस्थामा बोरामा गाँजा लुकाइराखेको फेला परेको थियो।
उक्त गाँजा तौल गर्दा ४१ बोरामा १ हजार ५०४ केजी ६१० ग्राम रहेका थियो। फरार चालकको खोजतलास तथा घटनासम्बन्धी थप अनुसन्धान कार्य भइरहेको बताइएको छ ।
यसैगरी, भारतमा तस्करी गर्न लागिएको अवैध फर्सीको बियाँ इलाममा बरामद भएको छ । मंगलबार राति अन्दाजी ११ बजे इलाम सूर्योदय ४, ठुलो सिर्बुङस्थित जङ्गलमा इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरी टोलीले लुकाई राखेको अवस्थामा फर्सीको बियाँ भरिएका २० वटा बोरा फेला पारेको हो ।
बरामद गरिएको फर्सीको बियाँलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा ल्याई तौल गर्दा जम्मा ५५२ केजी रहेको छ ।