समाज

मेचीनगरमा मानव कंकाल फेला परेपछि घटनामा संलग्न दुईजना पक्राउ

By admin

September 24, 2026

झापा । झापाको मेचीनगर ७ गैरीगाउँस्थित एक बंगुर फार्म पछाडि गाडिएको अवस्थामा एक व्यक्तिको कंकाल फेला परेपछि प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरुमा म्याग्दी घर भई हाल मेचीनगर १० बस्ने ४५ वर्षीय राम भन्ने गुप्तबहादुर सिंह र भारत जिल्ला आलेपुर विरपारा घर भई हाल मेचीनगर ८ बस्ने ४९ वर्षीय संजय लामा रहेका छन् । उक्त कंकाल करिब दुई वर्षदेखि बेपत्ता दिलनाथ बजगाईँको हुनसक्ने आशंका गरिएको छ ।

 

ललितपुर जिल्ला साविक मनिखेल हाल महाङकाल गाउँपालिका १ स्थायी वतन भएका दिलनाथ बजगाई २०८१ कात्तिक २९ गतेदेखि मेचीनगर ६ स्थित काँकडभिट्टाबाट बेपत्ता भएका थिए ।

 

त्यस सम्बन्धमा उनकी श्रीमती तुलसा बुढा बजागाईले प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन् । त्यस सम्बन्धमा अनुसन्धान गर्ने क्रममा हराइरहेका बजगाई सँगसँगै हिँड्ने उनकै साथी राम भनिने गुप्तबहादुर सिंह समेतलाई सोधपुछ गर्दा उनले घटनाबारे स्वीकार गरेका थिए ।

 

उनले देखाएबमोजिम गैरीगाउँस्थित जयप्रसाद तिवारीको जग्गामा रहेको गुप्तबहादुर सिंहले सञ्चालन गरेको बंगुर फर्मभित्र प्रहरी टोलीले उत्खनन् गर्दा मानव आकृति देखिने कङ्काल फेला परेको थियो । त्यसलाई परीक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।