समाज

दोभान बजारमा आगलागी हुँदा १० घर जलेर नष्ट

By admin

September 24, 2026

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ स्थित दोभान बजारमा बिहीबार दिउँसो आगलागी हुँदा १० घर जलेर नष्ट हुँदा १७ घरपरिवार विस्थापित भएका छन्।

 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार दिउँसो १ः३८ बजे सुरु भएको आगलागीमा लाक्पाचुङ शेर्पा र भीम लिम्बूका दुई, दुई वटा घर जलेर नष्ट भएका छन्। त्यस्तै चन्द्रप्रसाद पौडेल, यामबहादुर आङबुहाङ, घनश्याम खरेल, राजु शेर्पा, शुक्रवीर लिम्बू र राजेन्द्र पौडेलको एक, एक वटा घर जलेका छन्।

 

आगलागीका कारण भीम लिम्बूको घरमा बस्दै आएका अनिता विक, सुमन लिम्बू, लाक्पा शेर्पा, आरती लिम्बू र श्याम चोङवाङको धनमालसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक कमल बजगाईंले आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिए। आगलागीको कारणसमेत खुल्न सकेको छैन।

 

आगलागी नियन्त्रणमा फुङलिङ नगरपालिकाको दमकल, स्थानीयबासी, सुरक्षाकर्मी तथा उपलब्ध साधनको प्रयोग गरिएको थियो। बजार क्षेत्रमा ठूलो संख्यामा घर तथा परिवार प्रभावित भएपछि पीडितलाई तत्काल राहत र पुनःस्थापनाको आवश्यकता देखिएको छ।