समाज

अर्जुनधाराका ११वटै वडामा जेईविरुद्ध खोप अभियान सुरु

By admin

September 25, 2026

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका क्षेत्रमा जापानिज इन्सेफ्लाइटिस (जेई)विरुद्धको खोप अभियान शुक्रबारदेखि सुरु भएको छ ।

 

अर्जुनधारा ७ स्थित अरुणोदय आधारभूत विद्यालयमा एक संक्षिप्त कार्यक्रमका बीच नगर प्रमुख बलदेवसिंह गोम्देनले खोप लगाएर अभियानको उद्घाटन गरेका थिए । यससँगै नगरका ११ वटै वडाका विभिन्न खोप केन्द्रमा अभियान सञ्चालन भएको थियो ।

 

खोप लगाइसकेपछि नगर प्रमुख गोम्देनले सबै नगरबासीलाई खोप लगाउन आह्वान गर्दै भ्रामक सूचनाको पछि नलाग्न आग्रह गरेका छन् । उनले जीवन रक्षाका लागि खोप अनिवार्य भएकाले ३० वर्षमाथिका सबैले खोप लगाउन जरुरी रहेको बताए ।

 

अभियानको उद्घाटनका क्रममा नगर उपप्रमुख खड्गमाया पराजुली, ७ नम्बर वडाध्यक्ष गोविन्द खतिवडा, वडा सदस्यहरुलगायतले जेईविरुद्धको खोप लगाएका थिए ।

 

३० वर्षभन्दा माथिका उमेर समूहमा लगाइने यो खोप अर्जुनधारा नगरपालिकाका ४२ हजार ५३७ जनालाई लगाइने नगरको स्वास्थ्य शाखाले जनाएको छ ।

 

शाखा प्रमुख राजेन्द्र कुइँकेलका अनुसार ११ वटै वडामा ७६ वटा खोप केन्द्र निर्धारण गरिएको छ भने स्वास्थ्यकर्मीसहित २२१ जना कर्मचारी खटिएका छन् । यो अभियान असोज १६ गतेसम्म चल्नेछ ।