समाज

दोभान बजार आगलागीबाट १४ करोड ५६ लाखको क्षति

By admin

September 25, 2026

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भएको भीषण आगलागीबाट १४ करोड ५६ लाख रुपैयाँ मूल्यबराबरको क्षति भएको छ ।

 

मेरिङ्देन गाउँपालिका ३ स्थित खाम्लुङको दोभान बजारमा बिहीबार दिउँसो १ः४० बजेको समयमा आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विन्देश्वर यादवका अनुसार आगलागीबाट किराना पसल, भाँडावर्तन, लत्ता कपडाका पसलका सामान, अलैँची र घरहरु जलेर ध्वस्त हुँदा कुल १४ करोड ५६ रुपैयाँ मूल्यबराबरको क्षति भएको हो ।

 

आगलागीबाट पसलका सामानहरु र घर सहितका संरचना जलेर नष्ट हुनुका साथै केही नगदसमेत जलेको प्रहरी निरीक्षक यादवले जानकारी दिए । उनका अनुसार पीडित परिवारले दिएको जानकारी साथै आगलागीबाट ध्वस्त भएको वस्तु तथा अवस्थाको मूल्याङ्कनबाट उक्त मूल्य बराबरको क्षति भएको प्रारम्भिक विवरण सङ्कलन गरिएको हो ।

 

दोभान बजारका स्थानीय लाक्पाचुङ शेर्पा (डण्डु) को घरबाट आगलागी सुरु भएको थियो । उक्त आगलागीबाट आठ घर पूर्णरुपमा जलेर नष्ट भएको थियो भने दुई घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागीबाट घरधनी आठ परिवार र कोठा भाडामा बस्ने सात गरी १५ परिवार विस्थापित भएका छन् ।