खेलकुद

खुदुनाबारीमा आमा स्मृति यू-१७ वडास्तरीय नकआउट फुटबल हुने

By admin

September 27, 2026

खुदुनाबारी । झापाको खुदुनाबारीमा यही असोज २३ गतेदेखि ३० गतेसम्म आमा स्मृति यू-१७ वडास्तरीय नकआउट फुटबल प्रतियोगिता २०८३ हुने भएको छ ।

 

स्थनीयस्तरमा फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले अर्जुनधारा ३ कैदलेस्थित प्रस्तावित प्राकृतिक रंगशालामा प्रतियोगिता आयोजना गरिएको आइतबार आयोजित पत्रकार भेटघाटमा बताइएको छ ।

 

अर्जुनधाराको ११ वटा वडाको सहभागिता रहने प्रतियोगिताको विजेता टिमले नगद ५१ हजार ५५१ र उपविजेता बन्ने टिमले ३० हजार ३३३ रुपैयाँसहित ट्रफी पाउने आयोजक खुदुनाबारी परोपकार केन्द्रका अध्यक्ष एवम् प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष लीलाबल्लभ खतिवडाले जानकारी दिए ।

 

उनका अनुसार प्रतियोगिता विजेताको नगद पुरस्कार मुख्य प्रायोजक झापाली समाज कतारले र उपविजेताको नगद पुरस्कार प्रायोजक आमाबुबा भद्रमाया र हरिप्रसाद कन्दङवाको स्मृतिमा अर्जुनधारा ३ स्थित भानु आधारभूत विद्यालयका शिक्षक पदम कन्दङवाले सौजन्य गरेका छन् ।

 

यसैगरी प्रतियोगिताको शीर्षक पुरस्कार नगद एक लाख रुपैयाँ हाल संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेका बाबी सुब्बाले आमा आइतमाया सुहाङ लिम्बूनी ठूलीको स्मृतिमा सौजन्य गरेका हुन् ।

 

त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद पुरस्कार तीन हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उदीयमान खेलाडीले नगद पुरस्कार जनही दुई हजार पाँच सयसहित ट्रफी पाउने छन् भने प्रत्येक खेलको प्लेयर अफ दी म्याचले नगद एक हजार पाँच सय प्राप्त गर्ने छन् ।

 

प्रतियोगितालाई अर्जुनधारा नगरपालिका ३ नम्बर वडा कार्यालय र अर्जुनधारा नगर खेलकुद विकास समितिको सहयोग रहेको छ । अनुमानित पाँच लाख १६ हजार चार सय ८४ रुपैयाँ खर्च लाग्ने उक्त प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

 

पत्रकार सम्मेलनमा अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालअर्जुनधारा ३ का कार्यवाहक वडाध्यक्ष नारायणप्रसाद चापागाईं, दाता पदम कन्दङवा, अर्जुनधारा ५ वडा खेलकुद अध्यक्ष बाबा डिआर थारुलगायतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन आयोजक केन्द्रका उपाध्यक्ष कपिलमणि नेपालले गरेका थिए ।