अर्थ बजार

झापाको शनिश्चरेमा खुल्यो लोटस एजुकेशन, छुटकाे अफर

By admin

October 02, 2026

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका–८ स्थित शनिश्चरेमा एउटै छानामुनि विभिन्न सेवा दिने उद्देश्यले लोटस इन्टरनेशनल एजुकेसन प्रालि शुक्रबारदेखि सञ्चालनमा आएको छ। लोटसले विभिन्न सीपमूलक तथा व्यावसायिक तालिम प्रदान गर्ने जनाएको छ ।

 

लोटसले कम्प्युटरका विभिन्न आधारभूत तथा विशिष्ट कोर्स, बारिष्टा तालिम र ब्युटी पार्लरसम्बन्धी प्रशिक्षण तथा सेवा सञ्चालनमा ल्याएको हो। संस्थाकी सञ्चालक तारादेवी अधिकारीका अनुसार करिब २० लाख रुपैयाँको प्रारम्भिक लगानीमा कम्पनी स्थापना गरिएको हो।

 

सञ्चालनको सुरुवाती अवसरमा विभिन्न तालिम तथा सेवामा २० देखि ३० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको सञ्चालक अधिकारीले जानकारी दिइन्। हाल कम्प्युटरसम्बन्धी तालिममा ७ जना विद्यार्थी सहभागी छन्।

 

संस्थाले स्वदेशमै सीप सिकेर रोजगारीको अवसर सिर्जना गर्न सकिने गरी आधारभूतदेखि विशिष्ट तहसम्मका कम्प्युटर कक्षा सञ्चालन गरिरहेको जनाएको छ। साथै, रोजगारीका लागि इजरायल जाने तयारीमा रहेका केयर गिभरका लागि अनलाइन माध्यमबाट अंग्रेजी भाषा कक्षासमेत सञ्चालन भइरहेको छ।

 

लोटस इन्टरनेशनल एजुकेसनमा हालसम्म चार जनाले रोजगारी पाएका छन्। स्थानीयस्तरमै न्यूनतम दररेटमा गुणस्तरीय सेवा तथा तालिम उपलब्ध गराउने उद्देश्य रहेको सञ्चालक अधिकारीले बताइन्।

 

संस्थाको उद्घाटन अर्जुनधारा नगरपालिका–८ का वडा सदस्य मनोज रैका मगरले गरेका थिए। चाडपर्वका अवसरमा संस्थाले २० देखि ३० प्रतिशतसम्म छुटको व्यवस्था गरेको जनाएको छ ।