समाज

हचुमासा वनले विपन्नको घर निर्माणसँगै हात्तीपीडितलाई राहत दिने

By admin

October 02, 2026

अर्जुनधारा । झापाको अर्जुनधारा १ मा रहेको हचुमासा सामुदायिक वन उपभोक्ता समूहको ३०औँ साधारणसभा शुक्रबार सम्पन्न भएको छ । समूहको प्रांगणमा भएको साधारणसभाको उद्घाटन अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले गरेका थिए ।

 

साधारणसभामा समूहका अध्यक्ष अम्बरबहादुर राईले विपन्न उपभोक्तालाई आवासको व्यवस्थादेखि संस्थाको पक्की भवन निर्माणजस्ता आगामी योजना वार्षिक प्रतिवेदनमा पेश गरेका छन् ।

 

संस्था स्थापना कालमा निर्माण गरिएको संस्थाको कार्यालय भवन जीर्ण भएकाले यसै आर्थिक वर्षमा पक्की भवन निर्माण गर्ने, खैरेनी पर्यापर्यटन क्षेत्रलाई व्यवस्थित गर्न आइइ रिपोर्ट र डिपिआर तयार गर्ने, हात्तीले घर भत्काए निर्माणमा उचित सहयोग गर्ने, उपभोक्ता घाइते भएमा उपचारमा सहयोग गर्ने र मृत्यु भएमा ५० हाजरसम्म सहयोग गर्ने अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

 

यसैगरी, क वर्गमा रहेका विपन्न उपभोक्ताको न्यूनतम विद्युत् महसुल भुक्तानी गर्ने, एक वर्षमा पाँच जना अति विपन्न उपभोक्ताको सुरक्षित आवासको व्यवस्था गर्ने र दाउरको मागलाई न्यून गर्न १० घर उपभोक्तालाई बायो ग्याँस वितरण गर्ने योजना अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

 

चालु आर्थिक वर्षका लागि समूहले १ करोड ३६ लाख ३ हजार ९५९ रुपैयाँको बजेट कार्यक्रम अघि सारेको छ । समूहले गत आर्थिक वर्षमा १ करोड १० लाख २७ हजार ६९३ रुपैयाँको कारोबार गरेको जनाइएको छ ।

 

वन समुहले विभिन्न विधामा उत्कृष्ट ठहर गर्दै नगदसहित सम्मान गरेको छ । जेहेन्दार विद्यार्थीतर्फ गणेश आविकी आयुष्मा पुलामीमगर, सिंहदेवी माविकी प्रतिज्ञा तिम्सिना, महिला उद्यमी रोशिका गुरुङ सुब्बा, मौरीपालक कृषक यादव एक्तेन र खेमनाथ आचार्य रहेका छन् भने समूहको ३० वटा टोल समितिमध्ये वन संरक्षणमा उत्कृष्ट ठहरिएका टोल नम्बर १० र १९ लाई पुरस्कृत गरिएको छ ।