खेलकुद

महिलातर्फ कोलबोटे र पुरुषतर्फ पोखरी एकतप्पा गोल्डकपको सेमिफाइनलमा

By admin

October 28, 2026

एकतप्पा, इलाम । इलामको फाकफोकथुम ७ स्थित सिकारी भञ्ज्याङमा जारी चौथो एकतप्पा गोल्डकप पुरुष तथा महिला फुटबल प्रतियोगितामा कोलबोटे र पोखरीले विजयी सुरुवात गरेका छन् ।

 

स्थानीय सिंहदेवी माविको खेलमैदानमा आयोजित महिलातर्फको दोस्रो क्वाटरफाइनल खेलमा स्थानीय कोलबोटे एफसीले लोख्रुम्बा एफसी इलामलाई सडनडेथमा ६-५ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । कोलबोटेकी गोलरक्षक सन्दिला राई प्लेयर अफ दी म्याच बनिन् । उनले नगद १ हजार पाइन् ।

 

यसैगरी, पुरुषतर्फ पोखरी युथ एफसीले एकतप्पा एफसीलाई ३-० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरी युथका लागि दिपेश श्रेष्ठले २ गोल गरे भने श्याम मुर्मूले एक गोल गरेका हुन् । श्याम मुर्मू प्लेयर अफ दी म्याच बन्दै नगद १ हजार पाउन सफल भए ।

 

बिहीबार पुरुषतर्फ डिफेन्डिङ च्याम्पियन फाल्गुनन्द एफसी र हाङमाचुली एफसीबीच तेस्रो क्वाटरफाइनल खेल हुनेछ भने महिलतर्फ सीएसएस एफसी बी र मैदाने एफसीबीच खेल हुनेछ ।

 

दीपावलीको अवसरमा क्रिएटिभ सोसियल स्पोर्टिङ क्लब फाकफोकथुम ७ ले आयोजना गरेको प्रतियोगिताको कात्तिक १६ गते हुने पुरुषतर्फको फाइनल खेलको विजेताले नगद १ लाख ५० हजार र उपविजेताले ७५ हजार पाउने छ ।

 

यसैगरी, महिलातर्फको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी पाउने आयोजकका अध्यक्ष पदम योङहाङले जानकारी दिए ।