खेलकुद

त्रिभुवन आर्मी झापा महिला गोल्डकपको सेमिफाइनलमा

By admin

November 22, 2026

दूधे, (झापा) । दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको दोस्रो क्वाटरफाइनल खेलमा पनि अप्रत्यासित नतिजा निस्केको छ । भारतीय पाहुना टोलीमाथि त्रिभुवन आर्मी एफसीले १०-० गोलको नतिजा निकालेको हो ।

 

चन्द्रा भण्डारी र हेमा चौधरीले ह्याट्रिक गर्दा आर्मी भारतको टोली गयेसपुर वुमन फुटबल एकाडेमीविरुद्ध गोलवर्षा गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । जितसँगै आर्मी झापा महिला गोल्डकपको सेमिफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ ।

 

खेलमा भण्डारी र चौधरीको ह्याट्रिकसँगै सुक्रिया मिया २, जेनिफर राना मगर र दिपा शाहीले १–१ गोल गरे । खेलको प्लेयर अफ द म्याच विजेता त्रिभुवन आर्मी फुटबल क्लबकी चन्द्रा भण्डारी घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार पाइन् । त्यस्तै, कतारमा रहेका तेक्वान्दोका पूर्वराष्ट्रिय खेलाडी ज्याकी चानले प्रोत्साहनस्वरुप नगद १५ हजार रुपैयाँ प्रदान गरे ।

 

भोलि (सोमबार) हुने तेस्रो क्वाटरफाइनल खेल सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब र भुटानको थिम्पु राभेन वुमन एफसीबीच हुने आयोजकले जनाएको छ ।

 

प्रतियोगिताको विजेताले नगद ११ लाख तथा उपविजेताले ५ लाख ५० हजार रुपैंयाँ पुरस्कार पाउने छ । प्रतियोगिताको उत्कृष्ट एकजना खेलाडीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ । त्यसैगरी, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।