दुधे, झापा । रश्मिकुमारी घिसिङको सनसनीपूर्ण दोहोरो ह्याट्रिकको मद्दतले एपिएफ फुटबल क्लबले झापाको दुधेमा सञ्चालित दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
आज भएको तेस्रो क्वाटरफाइनल खेलमा एपिएफले भुटानको थिम्पु राभेन वुमन फुटबल क्लबलाई ७-० गोलअन्तरले पराजित गरेर सेमिफाइनल यात्रा गरेको हो । सेमिफाइनलमा एपिएफले झापा–११ फुटबल क्लबको सामना गर्नेछ ।
खेलको २६औँ मिनेटमा एपिएफका लागि रश्मिकुमारी घिसिङले रेनुका नगरकोटीले गरेको प्रहारलाई कट ब्याक गर्दै पोस्टको दिशा दिइन् । यसैगरी, ३०औँ र ४५औँ मिनेटमा गोल गर्दै रश्मिकुमारीले पहिलो ह्याट्रिक पूरा गरिन् ।
५२औँ मिनेटमा पेनाल्टीमार्फत रश्मिले चौथो गोल गरिन् । ५५औँ मिनेटमा कुसुम खतिवडाको क्रस पासमा हेडमार्फत गोल गर्दै उनले गोलअन्तर फराकिलो पारिन् । यसैगरी, ५९औँ मिनेटमा रश्मिकुमारीले दोहोरो ह्याट्रिक गरिन् । ६२औँ मिनेटमा अनिता केसीले गोल गरिन् । रश्मिको पासमा केसीले गोल गरेकी थिइन् ।
खेल अवधिभर एपिएफ मैदानमा हाबी भयो । भुटानले भने विपक्षी पोस्टमा कुनै खतरा पैदा गर्न सकेन । एपिएफ गत संस्करणको उपविजेता पनि हो । खेलको प्लेयर अफ द म्याच विजेता एपिएफकी रश्मिकुमारी घिसिङ घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार पाइन् । भोलि (मंगलबार) अन्तिम क्वाटरफाइनल खेल नेपाल पुलिस क्लब र बागमती युथ क्लबबीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद ११ लाख तथा उपविजेताले ५ लाख ५० हजार रुपैंयाँ पुरस्कार पाउने छ । प्रतियोगिताको उत्कृष्ट एकजना खेलाडीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ । त्यसैगरी उत्कृष्ट गोलकिपर, मिड फिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।