पर्यटन

‘सहकाले’को विकास गर्ने अर्जुनधाराको लक्ष्य

By admin

January 02, 2019

अमित खम्बू अर्जुनधारा । सुगम जिल्लाकोरुपमा परिचित झापाको १५ वटा स्थानीय तहमध्ये अर्जुनधारा नगरपालिकाले ‘सुगम नगरपालिका’को पहिचान स्थापित गरेको छ भन्दा

 फरक नपर्ला ? शिक्षा, स्वास्थ्य, सञ्चार, सुरक्षा, यातायात, पुल, विद्युत, बैंक तथा वित्य संघ–संस्था, बजारलगायतमा नागरिकहरुको सहजै पहुँच भएको सोही नगरपालिका अन्र्तगत वडा नम्बर २ नगर राजधानी शनिश्चरे बजारदेखि १९ किलोमिटर दुरीमा रहेको सहकालेका स्थानीयरुको तिनै सुविधाबाट विमुख हुँदाको पीडा भने बेग्लै रहेको पाइन्छ ।

वडा कार्यालयको तथ्याङ्क अनुसार १७ घरधुरी र स्थानीय कोप्चे सामुदायिक वन उपभोक्ता समूह (अर्जुनधारा नगरपालिका–२ र सूर्योदय नगरपालिका–१४)को तथ्याङ्क अनुसार २७ घरधुरीका तीन सय जनसंख्या उल्लेख गरिएको त्यस बस्तीका मानिसहरुको मुख्य पेशा कृषि र पशुपालननै रहेको छ । पिउन र सिञ्चाईं गर्न पानीको, आंशिकरुपमा सहकारी संस्थाहरु सुविधाबाहेक माथि उल्लेखित विकासका आधारहरुको सेवा लिन मूल्यसँगै समय र श्रम बढी खर्चनु पर्ने सहकालेवासीहरुको बाध्यता रहेको छ ।

अर्जुनधारा–२को खुदुनावारी–वेलटार–लाप्चेटार र छिमेकी जिल्ला ईलामको रोङ गाँउपालिका–२ अन्र्तगत रहेको मंगलटार–धनसार हुँदै पुल विहिन टाङटीङ नदी पार गरेपछी पुगिने उक्त क्षेत्रमा राई, लिम्बू, तामाङ, गुरुङ, बाहुन, क्षेत्रीको मिश्रित समुदायको बसोबास रहेको पाइन्छ ।

किंवदन्ती अनुसार तत्कालिन् समयमा चार घरधुरीबाट बस्ती सुरु गरेको त्यस क्षेत्रमा दैवीप्रकोपको कारण अनिकाल पल्टन गएपछी स्थानीयहरु मिलेर जुराएको ‘सहकाल’बाट त्यस क्षेत्रको नामाकरण सहकाले रहन गएको समूहका अध्यक्ष प्रदीप राईले जानकारी दिए ।

त्यस क्षेत्रको पृष्ठभूमिको विषयमा जानकारी गराउने क्रममा वि.सं.२०३६ सालमा झापाबाट अमिनहरु नापजाँच आउने क्रममा खाल्डोमा मच्छर लाग्ने हुँदा औलो लाग्ने डरले सोही क्षेत्रमा बास बसी भोलीपल्ट नापजाँच गरि फर्केको अध्यक्ष राईले बताए ।

जिल्लाकै उच्च भूभागमा रहेको दावी गरिएको सहकालेका बालबालिकाहरु अध्धयन गर्न प्राथमिक तहका लागि एक घण्टा हिँडेर सूर्योदय–१४मा रहेको बालकल्याण प्रा.वि., माध्यमिक तहका लागि दुई घण्टा हिँडेर रोङ–२ बदमटारमा रहेको ससी माध्यमिक विद्यालय, स्वास्थ्य सेवा लिन रोङ–२ धनसारमा रहेको स्वास्थ्य चौकीमा पुग्ने गरेको स्थानीय बताउँछन् ।

मुख्य समस्या पुल, विद्युतीकरण र यातायातको रहेको त्यस क्षेत्रका स्थानीय सडकको नाममा निर्माण भएको सामान्य ट्रयाकमा हिंडडुल गर्नुपर्ने, व्यक्तिगत जडान गरिएको सौर्य उर्जाको भरमा रात काट्नुपर्ने, साप्ताहिक हाटको लागि रोङ–२स्थित मंगलटारमा प्रत्येक शनिबार लाग्ने बजार र अर्जुनधारा–३स्थित खुदुनाबारीमा प्रत्येक आइतबार लाग्ने बजारमा पुग्ने गरेको पाइन्छ ।

स्थानीय तह–२०७४को निर्वाचन अघिसम्म कोही पनि उम्मेदवार भोट माग्न र विजयी भएपछी कोही जनप्रतिनिधि नपुगेको बताइने त्यस बस्तीका स्थानीय निर्वाचनको समयमा मतदान गर्न साँढे १० किलोमिटरको दुरी पार गरेर खुदुनावारीस्थित गाँजाबारीमा रहेको नवज्योती प्राथमिक विद्यालयको मतदान केन्द्रमा धाउने गर्छन् ।

२०५९ साल देखि बसोबास गर्दै आएका स्थानीय धनबहादुर बस्नेत उक्त क्षेत्र पछाडी पर्नुको कारण राजनीतिक नेतृत्वमा स्थानीयको पहुँच नभएर भएको बताउँछन् । “राजनीतिमा पहुँच नभएपछी नेता र जनप्रतिनिधिले हाम्रो क्षेत्रको विकासमा चासो दिएनन्”–उनी भन्छन् । त्यसैगरी अर्का स्थानीय कमला तामाङ बस्नेत प्रतिप्रश्न गर्छीन्– “स्थानीयलाई खेतीपाती र गोठाला जाँदै ठिक्क अनि कसरी यो क्षेत्रले नेतृत्वकर्ता पाउने त ?।” विकास नहुँदा सबै कुराबाट पछाडी पारिएको यस क्षेत्रका महिला र बालबालिकाहरु बढी जोखिममा रहेको उनी बताउँछीन् ।

जनप्रतिनिधि चयन गर्न सबै निर्वाचनमा सहभागी भएका उनीहरु आधारभूत आवश्यकताका लागि बस्ती बाहिर धाउनु भन्दा सोही क्षेत्रमा अनुभूत गर्न पाँउ भनी इच्छा व्यक्त गर्छन् ।

१७ महिनापछि नगर प्रमुख सहकालेमा यसैबिच निर्वाचित भएको १७ महिनापछी पहिलोपटक त्यस क्षेत्रको अध्धयन अवलोकनको लागि पुगेका स्थानीय सरकार प्रमुख हरिकुमार रानाले उक्त क्षेत्रलाई कृषि र पशुपालनसँगै पर्यापर्यटनको क्षेत्रमा विकास गर्ने लक्ष्य लिएको बताए । ‘झापाबाट उछीटीएको र इलामले नदेखेको’ उक्त क्षेत्रमा उम्मेदवार हुँदा आफू पनि भोट माग्न नपुगेको स्वीकार्दै अब भने विकासको लागि छिमेकी नगरपालिकाहरुसँग सहकार्य गर्दै अगाडी बढ्ने प्रमुख रानाले बताए ।

अर्जुनधारा–२सँगै माई नगरपालिका–५ र सूर्योदय नगरपालिका–१४को सीमानामा रहेको आकर्षक सहकाले झरनालाई पर्यटन क्षेत्रकोरुपमा प्रबद्र्धन गर्न विशेष योजना सञ्चालनको लागि आवश्यक प्रक्रिया तत्काल सुरु गर्ने उनले बताए । “यस स्थानलाई पर्यटन क्षेत्रकोरुपमा विकास गर्न चाँडै भूगर्भविद् र वातवारणविद्को टोली ल्याई अध्धयनको काम सुरु गर्छु,‘सफलताको लागि सबैसँग सहयोग पनि माग्छु”– उनले थप भनाइ राखे ।

स्थानीयका अनुसार उक्त बस्तीमा निर्वाचनको समयमा भोट माग्न जाने पहिलो उम्मेदवारकोरुपमा परिचित टोलीमा सहभागी अर्जुनधारा–२ वडा समितिका वडाध्यक्ष रघुनाथ खनालले सहकालेको विकासमा वडाकोतर्फबाट आफूले सधैं पहल गर्ने बताए । गत आर्थिक वर्षमा ८० हजार रुपैयाँ लगानी गरी जेसीभीको प्रयोगबाट सडकको ट्रयाक निर्माण सम्पन्न गरेको वडा समितिले चालु आर्थिक वर्ष ०७५÷०७६मा विद्युतीकरणको लागि एक लाख ५० हजार रुपैयाँ विनियोजन गरेको र सडकको ट्रयाक विस्तारको कार्यलाई निरन्तरता दिने वडाध्यक्ष खनालले बताए ।

त्यसैगरी अर्का सहभागी अर्जुनधारा–३स्थित बेलटार खानेपानी सरसफाई उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र आचार्यले उक्त क्षेत्रमा बसोबास गरेका समुदायको आर्थिक जीवनस्तर उकास्न पर्यटन क्षेत्रकोरुपमा विकास गर्नु आवश्यक भएको बताए । त्यसरी विकास नगर्ने हो भने स्थानीयलाई मुआब्जा प्रदान गरी उक्त बस्तीलाई उपयुक्त स्थानमा स्थानान्तरण गरी त्यस क्षेत्रमा वृक्षारोपण, सुपारी खेतीलगायतका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने अध्यक्ष आचार्यले बताए ।

टोलीमा नगर सभा सदस्य अर्जुन मेचे, प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, नगर पशु सेवा शाखा प्रमुख पदमलाल राई, नगर कर्मचारी खगेन्द्र लिङदेन, प्रमुखका स्वकीय सचिव गजेन्द्र खनाल, प्रेस संयोजक सागर गौतम, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराई, युवा संघका केन्द्रीय सदस्य प्रत्युस रानालगायतको सहभागिता रहेको थियो ।