शिक्षा

सरस्वती आधारभूत विद्यालयमा खानेपानीसँगै विद्यार्थीलाई स्वेटर

By admin

January 22, 2019

भद्रपुर । निम्नवर्गीय अभिभावकका छोराछारी अध्ययन गरिरहेका भद्रपुर ७ स्थित सरस्वती आधारभूत विद्यालयमा रहेको खानेपानीको समस्या समाधान भएको छ ।

अहिलेसम्म परम्परागत ट्युवेलको पानी पिउन बाध्य विद्यार्थीहरुले सोमबारदेखि प्रशोधित खानेपानीको सुविधा प्राप्त गरेका हुन् । भद्रपुर नगरपालिका, वडा नं ७ को कार्यालय, चन्द्रगढी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, उद्योगी तथा समाजसेवी राजेन्द्रकुमार घिमिरेसमेतको आर्थिक सहयोगमा लगभग ३ लाख रुपैयाँ खर्च गरी विद्यालयमा खानेपानी सुविधा पुर्याइएको वडाध्यक्ष विनोद पोखरेलले जानकारी दिए । विद्यालयमा चन्द्रगढी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिअन्तर्गतको खानेपानी वितरण गरिएको हो । दक्षिण क्षेत्रमा वितरित खानेपानीको मुख्य पाइपलाइनबाट ८०० सय मिटर दक्षिणतर्फ विस्तार गरिएको समितिका सचिव बाबुराम कार्कीले बताए ।

सोमबार विद्यालय परिसरमा आयोजित एक समारोहका बीच प्रमुख अतिथि भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, वडाध्यक्ष विनोद पोखरेल, पूर्व सांसद पुष्पराज पोखरेल, सहयोगदाता राजेन्द्रकुमार घिमिरेले संयुक्त रुपमा उद्घाटन गरे । सोही अवसरमा अध्ययनरत ५५ जना विद्यार्थीलाई भद्रपुर ७ का पोखरेल परिवारहरुको तर्फबाट न्यानो लुगा स्वेटर प्रदान गरियो । दाताहरु क्ृष्ण पोखरेल, महेन्द्रकुमारी पोखरेल, रामप्रसाद पोखरेल, पुष्पराज पोखरेल, इन्दिरा पोखरेल, उत्तम पोखरेललगायतले आफ्ना परिवारका दिवंगत अभिभावक तथा सदस्यको स्मृतिमा उपलब्ध गराएको स्वेटर वितरण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् जनप्रतिनिधि फूलसिंह राजवंशीको अध्यक्षतामा वडासचिव मुरारी पोखरेलले सञ्चालन गरेको संक्षिप्त कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक अनितादेवी विमलीले वरपरका केटाकेटीको आकर्षण निजी विद्यालयतर्फ बढ्दै गएकोले विद्यार्थीको संख्यामा कमी आएको हुँदा विद्याथी आकर्षित गर्न शैक्षिक तथा भौतिक गुणस्तरमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।उनले विद्यालय परिसर घेराबारा गर्नुपर्ने, शिक्षक संख्या बढाउनुपर्ने आवश्यकता रहेको पनि बताइन् ।