शिक्षा

देवभूमिको वार्षिकोत्सवमा माृतभाषाबाट स्वागत

By न्यूज सञ्जाल

February 23, 2019

अर्जुनधारा, झापा । झापाको अर्जुनधारा–५स्थित देवभूमी विद्यापीठ अङग्रेजी आवासिय विद्यालयको १२औं वार्षिकोत्सवमा आएका पाहुनालाई विभिन्न जातिको मातृभाषामा विद्यार्थीले शनिबार स्वागत गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन शर्मा जम्मरकट्टेलको अध्यक्षता र प्याब्सन प्रदेश १का उपाध्यक्ष मिलनकुमार ढुंगानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ११ जातिको मातृभाषासँगै खस र संस्कृत भाषाबाट आगन्तुक अतिथिलाई स्वागत गरिएको हो ।

स्वागत मन्तव्य कार्यक्रम संयोजक त्रिलोचन दाहालले गरेको कार्यक्रममा विद्यार्थीहरुले उर्दु, खस, गुरुङ, तामाङ, थारु, नेवार, मगर, मैथिली, राई, राजवंशी, लिम्बू, शेर्पा र संस्कृत भाषामा स्वागत गरेको कार्यक्रममा प्रधानाध्यापक राकेश शर्मा जम्मर कट्टेलले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन शर्मा जम्मर कट्टेलका अनुसार विद्यालयमा अध्ययनरत ती जातिका विद्यार्थीलाई विगत दुई महिनादेखि मासिक एक दिन मातृभाषाबारे जानकारी दिनका लागि बोलचालको भाषा प्रयोग गरिँदै आएको छ । भाषा, भेषभुषा, संस्कार र संस्कृतिबारे जानकारी दिनका लागि पनि यस्तो अवधारणा विद्यालयले अघि सारेको हो ।

वार्षिकोत्सवको सन्दर्भमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिताकी पदकधारी स्थानीय खेलाडी एस्तर राई र सञ्चारकर्मी पूष्पा लिम्बूलाई सम्मानपत्र र दोसल्ला ओढाई सम्मानित गरिएको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक तथा साहित्यिक सामग्रीहरु प्रस्तुत गरेका थिए ।

प्रधानाध्यापक जम्मरकट्टेलद्वारा लिखित छुवाछुतविरुद्धको सन्देशमा आधारित नाटक ‘परिवर्तनको एक प्रयास’ मञ्चन गरिएको कार्यक्रममा फेसन शो, कराते खेलको प्रदर्शन, विद्यालयमा सम्पन्न भएको विभिन्न प्रतियोगिताका पुरस्कारहरु वितरण गरिएको थियो ।

कार्यक्रममा वडाध्यक्ष ध्यानबहादुर भारती, संघीय समाजवादी फोरमका नगर अध्यक्ष सृजलाल चौधरी, प्याब्सन झापाका वरीष्ठ उपाध्यक्ष गौरीमान फागो, प्याब्सन नगर अध्यक्ष रुद्रप्रसाद सिटौला, झापा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष प्रशान्त भण्डारी, नेपाल आदिवासी जनाजाति महासंघ नगर समन्वय परिषद्का अध्यक्ष जगत राना मगर, अभिभावक संघका अध्यक्ष टंक खतिवडालगायतको आतिथ्यता रहेको थियो ।

औपचारिक कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सरोज पौड्यालले र सांस्कृतिक कार्यक्रमको सञ्चालन विद्यार्थीहरु अंकिता भट्ट र देव शर्मा तथा पूजन भट्ट र विन्दा रिजालले गरेका थिए ।