समाज

वडा कार्यालयलाई ३ रोपनी जग्गा दान

By admin

March 26, 2019

इलाम ।  इलामको रोङ गाउपालिका ४ को वडा कार्यालय बनाउनको लागि स्थानीय लिम्बु दाजुभाइले ३ रोपनी जमिन दान गरेका छन् ।

साबिक कोल्बुङ गाबिस वडा नम्बर ९(क) को कित्ता नम्बर ८५ बाट होमबहादुर लिम्बुले २ रोपनी र ९(क) कै कित्ता नम्बर १२७ बाट लिलाबहादुर लिम्बुले १ रोपनी जमिन वडा कार्यालयको लागि उपलब्ध गराएका हुन् । जग्गादाता लिम्बुहरु सहोदर दाजुभाइ हुन् । जमिन गाउपालिकाको नाममा रजिष्ट्रेशन पास समेत भइसकेको वडा सचिब तुलाराम श्रेष्ठले बताए ।

वडालाइ जमिन आवस्यक परेको सम्बन्धी वडा कार्यालयले ढेड बर्ष अघि सार्बजनिक सूचना प्रकाशित गरेपछि ३ वटा प्रस्ताब परेको वडा अध्यक्ष सूर्य राईले बताए । ‘प्राबिधिक सहितको टोलीले लिम्बु दाजुभाइको जमिन उपयुक्त ठहर गरेको आधारमा जमिनको छनौट गरियो’ वडा अध्यक्ष राईले भने,– जग्गा उपलब्ध गराउन प्रस्ताब गर्नुहुने सबै मनकारी वडा बासीप्रति हामीले आभार ब्यक्त गरेका छौ ।

प्राप्त जमिन सम्याउने तथा आवस्यक नापनक्सा पछि भवन बनाउने प्रकृया सुरु हुने वडा अध्यक्ष राइले बताए । वडामा स्वास्थ्य चौकी भवन बनाउनको लागि पनि आवस्यक जमिनको खोजी भइरहेको जनाइएको छ ।