समाज

भद्रपुरमा फेला परे कालाजारका बिरामी

By admin

May 10, 2019

भद्रपुर/ भद्रपुरमा कालाजारका बिरामी फेला पर्न थालेका छन्। दुई वर्षअघि भद्रपुरमै देखा परेको कालाजार फेरि फेला परेपछि स्वास्थ्यकर्मीले नियन्त्रण तथा रोकथाम अभियान सुरु गरेको छ।

साबिक चन्द्रगढी हाल भद्रपुर १० स्थित फुचुटोलका तीन जनामा कालाजार भेटिएको भद्रपुर नगर स्वास्थ्य शाखाका प्रमुख पुष्कर निरौलाले जानकारी दिए। भद्रपुर १० निवासी ४५ वर्षीय बोगल हेमराम, ३० वर्षीया जुली हेमराम र २७ वर्षीय आइतबार टुडुमा कालाजार भेटिएको शाखा प्रमुख निरौलाले बताए।

करिब एक साताअघि गाउँका दुई जनामा कालाजार भेटिएको र उपचार गर्न अस्पतालसमेत जान नमान्ने उनीहरूलाई स्वास्थ्य शाखाको पहलमा मेची अञ्चल अस्पताल भद्रपुरमा भर्ना गरिएको हो। ‘त्यसपछि गाउँमा बस्ने अन्य केही व्यक्तिलाई शंका लागि स्वास्थ्य परीक्षण गर्दा टुडुमा पनि कालाजार भेटिएको हो’, उनले भने।

अहिले टुडुको पनि अस्पतालमा उपचार भइरहेको छ। शाखा प्रमुख निरौलाका अनुसार करिब दुई वर्षअघि साबिक महेशपुर हाल भद्रपुर ३ स्थित कोदागाउँको सन्थाल बस्तीका एकजनामा कालाजार भेटिएको थियो। ‘भद्रपुरको वडा ३ र १० नम्बर वडाको सन्थाल बस्ती नै कालाजारको उच्च जोखिममा छ’, उनले भने, ‘त्यहाँको सन्थाल समुदायको घर फुस र माटोले बनाएको हुनाले कालाजारको किटाणु त्यही बस्छ र मानिसमा सर्छ, जसले गर्दा जोखिम बढेको हो।’

बस्तीमा औषधि छर्दै स्वास्थ्यकर्मी भद्रपुर १० स्थित फुचु टोलमा सन्थाल समुदाय बसोबास गर्दै आइरहेको छ। खोला र चिया बगानले घेरिएको बस्तीमा सन्थाल समुदायका १८ देखि २० घर छन्। त्यहाँ सबै घर फुस र माटोले बनाइएको छ। कालाजारका किटाणु ससाना भुसुनाजस्तो हुन्छ। ती किटाणुहरू फुस र माटोमा बस्छन्।

बस्तीमा कालाजारका बिरामी भेटिएपछि कालाजार नियन्त्रणका लागि भुसुना मार्न घर वरिपरि भद्रपुर नगर स्वास्थ्य शाखाले औषधि छर्ने काम सुरु गरिसकेको शाखा प्रमुख निरौलाले जानकारी दिए। कालाजार भेटिएको बस्तीमा डेल्टामिथारिन ५ प्रतिशत नाम औषधि छर्किएको हो, उनले भने, ‘यो औषधि भद्रपुर ३ स्थित कादोगाउँ सन्थाल बस्तीमा पनि छर्नेछौं।,

कालाजारका बिरामी फेलापर्ने थालेकोले सो बस्तीमा शुक्रबार स्वास्थ्यकर्मी टोलीले गाउँका सबै व्यक्तिको स्वास्थ्य परीक्षण गर्न जनाइएको छ। यस्‍ता छन् लक्षण कालाजार किटाणुले मानिसलाई टोक्दा यसको असर लामो समयसम्म रहने नगर स्वास्थ्य शाखा प्रमुख निरौलाले बताए। ससाना भुसुनाले मानिसलाई टोक्दा लगातार ज्वरो आउने, शरीर कमजोर हुने, पेट फुल्ने समस्या आउँछ। यो एक प्रकारको सरुवा रोग पनि हो।

कालाजार संक्रमित मानिसलाई टोकेको भुसुनाले स्वास्थ्य मानिसलाई टोक्दा कालाजार रोग फैलन सक्छ। यस रोग लागेको व्यक्तिको जिउ कालो हुँदै जाने, दुई हप्ता बढी समयदेखि ज्वरो आउने, पेट सुन्निएर बायाँतर्फ सर्दै जाने तथा बिरामी कमजोर हुँदै जाने लक्षणहरू हुन्। यस्तो लक्षण देखा परे तत्काल अस्पतालमा गएर उपचार गराए ज्यान बच्न सक्ने चिकित्सकहरूको भनाइ छ।