समाज

देशैभरका वनमा डढेलो, सावधानी अपनाउन सरकारकाे आग्रह

By admin

May 11, 2019

काठमाण्डाै/ देशैभरका वनमा डढेलो लाग्ने क्रम बढेपछि सरकारले सावधानी अपनाउन आग्रह गरेको छ ।

गएको २४ घण्टामा ४३ जिल्लाका दुई हजार चार ठाउँमा डढेलो लागेपछि सरकारले सावधानी अपनाउन आग्रह गरेको हो ।

वन तथा भू–संरक्षण विभागका उपसचिव एवं डढेलो विज्ञ सुन्दर शर्माले डढेलो लाग्न नदिन वनमा आगो नलगाउने, सलाई, लाइटर जस्ता प्रज्वलनशील पदार्थ बच्चालाई नदिने, सुकेका पात पतिंगर, बाँस, वेत, खर खडाईका साथ साथै सुकेका काठ दाउरा जथाभावी नजलाउने, सामुदायिक वनमा वन पथ बनाउने र एक ब्लकमा लागेको आगो अर्को क्षेत्रमा सल्कनबाट रोक्न सुरक्षा घेरा बनाउन सकिने बताउनुभयो ।

नेपालको इतिहासमा पहिलो पटक एकै दिन गएको २४ घण्टामा दुई हजारभन्दा बढी ठाउँमा डढेलो लागेको हो ।

नेपालमा मध्य फागुनदेखि मध्य बैशाखसम्म आगलागी र डढेलोका घटना बढी हुने गरे पनि यो बर्ष डढेलो लाग्ने क्रम फरक देखिएको डढेलोविद् शर्माले बताउनुभयो ।

जलवायु परिवर्तनका कारणले तापमानमा वृद्धि हुँदा डढेलोका घटना बढेको हुन सक्ने अनुमान गरिएको छ ।