शिक्षा

मापसे गरी प्रअमाथि दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

By admin

May 12, 2019

खोटाङ/ खोटाङमा मापसे गरेर प्रधानाध्यापकमाथि हातपातको प्रयास गर्ने शिक्षक पक्राउ परेका छन्।

व्यवस्थापन समितिको बैठक चलिरहेको समयमा मादक पदार्थ सेवन गरेर प्रअमाथि हातपात गर्न खोजेको आरोपमा हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिमस्थित रातमाटे प्राविका शिक्षक खेमराज राई पक्राउ परेका हुन्।

सट्टा शिक्षक राख्ने विषयमा शुक्रबार बसेको व्यवस्थापन समितिको बैठकमा शिक्षक राईले प्रअ टेकबहादुर राईमाथि हातपातको प्रयास गरेका थिए। सोही आरोपमा शिक्षक खेमराजलाई इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएका प्रहरीले नियन्त्रणमा लिएको हो।

मेडिकल जाँच गरी उनलाई नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ। सोही विद्यालयमा कार्यरत शिक्षक इच्छाराम राईले व्यक्तिगत समस्याका कारण सट्टा शिक्षक राखेर पठन–पाठन गर्न वैसाख १५ गते निवेदन दिएपछि छलफल गर्न बोलाइएको बैठकमा शिक्षक राईले कुर्सी उठाएर प्रअलाई हान्ने प्रयास गरेको व्यवस्थापन समितिका अध्यक्ष राजन राईले बताए।

आक्रमण रोक्न खोज्दा वडा सदस्य फलामसिं राईको खुट्टामा सामान्य चोट लागेको छ। नियमअनुसार सट्टा शिक्षक राख्न नसकिने निर्णय गर्न लाग्दा प्रअमाथि आक्रमणको प्रयास भएको हो। मापसे गरेर प्रअमाथि आक्रमण गर्न खोजेपछि शिक्षक राईलाई प्रहरीको जिम्मा लगाएको नगर प्रमुख इवन राईले बताए।