समाज

एकै दिनमा ९० जनालाई अपाङ्गताको परिचयपत्र

By admin

May 13, 2019

भद्रपुर । झापाको भद्रपुर नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरुको सहजताका लागि गाउँ–टोलमै परिचयपत्र वितरण गर्न थालिएको छ ।

अपाङ्गता भएकाहरुलाई परिचयपत्रका लागि नगरपालिसम्म धाउन कठिन हुने देखिएपछि नगरपालिकाले वडाहरुका गाउँ–टोलमै घुम्ती शिविर आयोजना गरी परिचयपत्र वितरण गर्न थालेको हो ।

यसैक्रममा, आइतबार भद्रपुरको १, २ र ३ नं वडालाई समेट्ने गरी पृथ्वीनगरमा घुम्ती शिविर सञ्चालन गरी एकै दिन अपाङ्गता भएका ९० जनालाई परिचयपत्र प्रदान गरेको छ ।

भद्रपुर नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा सञ्चालित घुम्ती शिविरमा नगरप्रमुख प्रमुख जीवनकुमार श्रेष्ठ, स्थानीय अपांगता समन्वय समितिकी संयोजक तथा नगर उपप्रमुख चन्द्रामाया श्रेष्ठ, तीनवटै वडाका वडाध्यक्षहरुले अपांगता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गरेका थिए ।

स्वास्थ शाखा प्रमुख ईश्वरीप्रसाद पौडेलले स्वागत र सामाजिक विकास शाखा प्रमुख राजन न्यौपानेले सञ्चालन गरेका शिविरमा अपाङगता भएकाहरुको स्वास्थ्य परीक्षण र औषधि वितरण गरिएको नगर स्वास्थ्य संयोजक पुष्कर निरौलाले जानकारी दिए ।