शिक्षा

झापाका विद्यार्थी अंग्रेजी छाडेर संस्कृतमा

By admin

May 15, 2019

रविन भट्टराई

बिर्तामोड/ नयाँ शैक्षिक सत्र सुरु भएसँगै सामुदायिक र निजी विद्यालयका शिक्षक विद्यार्थी खोज्न घर–घर पुगे। त्यति गर्दा पनि कोटाअनुसार विद्यार्थी भर्ना हुन आएनन्। तर, झापामै खुलेका संस्कृत विषय अध्यापन गराउने विद्यालयलाई विद्यार्थी थेग्न हम्मेहम्मे पर्‍यो।

अंग्रेजी विद्यालयमा अध्ययन गर्दै गरेका ३५ बालबालिका संस्कृत पढ्न आएको चारपानेस्थित विवेका श्रम सांगवेद संस्कृत माविका प्रधानाध्यापक दामोदर न्यौपानेले बताए। ‘हाम्रोमा मात्र होइन, जिल्लामा रहेका सबै गुरुकुलमा संस्कृत पढ्न आउने विद्यार्थीको चाप छ’, उनले भने, ‘पछिल्लो समय अंग्रेजी विद्यालयमा भर्ना भएका बालबालिकालाई पनि अभिभावकले संस्कृत पढ्न गुरुकुलमा हाल्ने गरेका छन्।’

विद्यार्थीको चाप बढेपछि यो वर्ष प्रवेश परीक्षा लिएर भर्ना गरिएको उनको भनाइ छ। ‘बोर्डिङ पढ्ने विद्यार्थी अत्यधिक मात्रामा संस्कृत पढ्न गुरुकुल आउन थालेपछि प्रवेश परीक्षा लिएर मात्र भर्ना गरेका छौं’, उनले भने, ‘धेरैलाई जिल्लाकै अन्य विद्यालयमा पनि यहाँबाट पठायौं।’

संस्कृत अध्ययनपछि इज्जत र आर्थिक उपार्जन सहज हुने भएपछि गुरुकुल शिक्षाप्रति आकर्षण बढेको विद्यार्थी बताउँछन्। सुलभ शिक्षा प्रणाली मात्र होइन, रोजगारीको सुनिश्चिततासमेत रहेको सरोकारवालाको भनाइ छ। झापामा २३ वटा गुरुकुल छन्। सबैमा विद्यार्थीको चाप छ। शैक्षिक सत्र २०७६ का लागि ४० नयाँ विद्यार्थी गुरुकुलमा भर्ना भएको न्यौपानेले बताए।

माध्यमिक शिक्षा अध्ययन–अध्यापन हुने विवेका श्रममा संस्कृत विषय कक्षा ४ बाट मात्र पढाइ हुँदै आएको छ। संस्कृतसहित अन्य विषय पनि पठनपाठन हुने भएकाले गुरुकुल शिक्षाका लागि विवेका श्रम रोजाइमा परेको छ। अंग्रेजीभन्दा संस्कृत शिक्षाको भविश्य राम्रो रहेको कक्षा ५ मा अध्ययनरत बुद्धशान्ति–१ होक्सेका तुलसी तिम्सिनाको ठम्याइ छ। १ सय ५० भन्दा बढी विद्यार्थी उक्त विद्यालयमा संस्कृत पढिरहेका छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा धर्मगुरु व्यासाचार्य किशोर गौतमका अनुसार प्रविधिको विकास गर्ने देश र वैज्ञानिकले पनि संस्कृत प्राविधिक शिक्षा भएको स्वीकार गर्र्दै पुनः यसको शिक्षा लिन थालेका छन्। त्यसैले विद्यार्थीको आकर्षण बढेको हुन सक्ने उनको ठम्याइ छ।

पारिवारिक वातावरण हुने, संस्कार सिक्ने र ज्ञानी हुने भएकाले अभिभावकले संस्कृत शिक्षालाई प्राथमिकता दिएको पाइन्छ। सरकारले पनि पाठ्यक्रम तयारी र व्यवस्थापनमा चासो देखाएकाले गुरुकुल सञ्चालन सहज हुँदै गएको व्यासाचार्य गौतमको भनाइ छ। विवेका श्रम सांगवेद झापाकै पुरानो संस्कृत विद्यालय हो। यो २०२८ सालमा स्थापना भएको थियो।

दाताकै भर

धेरै पण्डित र पुरोहित उत्पादन गर्न विद्यालय सफल भए पनि दाताकै भरमा सञ्चालन गर्नुपरिरहेको उनले बताए। ‘विद्यालयले २०३२ सालमा औपचारिक रूपमा पठनपाठन सुरु गर्‍यो’, उनले भने, ‘त्यसयता विवेका श्रम दाताकै भरमा चलेको छ। कसैले विद्यार्थीलाई एक दिनको भोजन गराइदिन्छन्। ५१ सय रुपैयाँ दिएपछि एक दिनको भोजन गराएको मानिन्छ।’

विद्यालयले अक्षय कोष खडा गरेको छ। दाताले २१ सय रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने गरेका छन्। त्यसबाट प्राप्त ब्याजले पूजाआजा गरिनुका साथै विद्यालय सञ्चालन खर्च र शिक्षकलाई तलब दिइने प्रधानाध्यापक न्यौपानेले बताए। ‘विद्यालय मुष्ठीदानबाट सुरु भएको हो। यो क्रम अझै चलिरहेकै छ’, उनले भने, ‘सरकारबाट न्यून सहयोग छ। केही शिक्षकको मात्र दरबन्दी छ।’

गुरुकुल शिक्षा प्रणालीमा विद्यार्थी गुरूको आ श्रममा रहेर विभिन्न विषयमा पारंगत नहुञ्जेल अध्ययन गर्छन्। यस्तो शिक्षा दिने गुरुकुलको संख्या देशभर ६० वटा छन्। झापामा केहीले विद्यालयसरह कक्षा सञ्चालन गरिरहेका छन्। वेदवेदांग संस्कृत पाठशाला साधुटार, विवेका श्रम सांगवेद संस्कृत मावि चारपाने, अर्जुनधारा संस्कृत विद्यापीठ, अर्जुनधारा, कृष्णद्वैपायन गुरुकुल वेदविद्या श्रम महेशपुर नाम चलेका गुरुकुलमा पर्छन्, अन्नपूर्ण दैनिकमा खबर छ ।