पाँचथर- मिक्लाजुङको आरुबोटेमा सोमबार राति दुई परिवारका नौजनाको हत्या भएको घटनाको सूक्ष्म अनुसन्धानमा प्रहरी जुटेको छ। प्रहरीले घटनाबारे सोधपुछ, प्राप्त विवरणको विश्लेषण, प्राविधिक पक्षहरुको अध्ययन गरिरहेको छ।

अनुसन्धानका लागि प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो, १ नम्बर प्रदेश प्रहरी कार्यालयको विशेष टोली र जिल्ला प्रहरी कार्यालयको टोली खटिएको छ। सुराकी लिन घटनास्थल र आसपासमा प्रहरी परिचालन गरिएको छन्। अनुसन्धानमा खटिएका प्रहरी कहिले घटनास्थल पुग्छन् त कहिले रवि बजारमा रहेको इलाका प्रहरी कार्यालयमा आएर घटनास्थलमा प्राप्त सामग्री, कल डिटेल्सलगायका विषयमा अध्ययन गर्छन्।

प्रहरीले सानासाना विषय पनि केलाइरहेको बताइएको छ। घटना भएको अर्को दिन मंगलबार तालिमप्राप्त कुकुर घटनास्थलमा ल्याइएको थियो। घट्ना स्थललाई सिल गर्ने, विवरण तथा अन्य सामग्री संकलन गर्ने, सशंकित व्याक्तिको पहिचान गर्ने कामपछि प्राप्त विवरणको विश्लेषण भइरहेको पाँचथरका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुँवरले बताए।

शव परीक्षण तथा फरेन्सी टेस्ट रिपोर्ट आएपछि थप विषय केलाउने बताइएको छ। सशंकित व्यक्तिका आफन्तसँग कुराकानी, हत्या गरिएका परिवारका आफन्त तथा छिमेकीलगायसँग प्रहरीले सोधपुछ गरीरहेको छ। ब्युरोका एसपी उमाप्रसाद चतुर्वेदीसहितको तीन जनाको टोली, प्रहरीनिरीक्षक नेतृत्वमा १ नम्बर प्रदेश कार्यालयको विशेष टोली र डिएसपी कुँवरको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयको टोली अनुसन्धानमा खटिएको छ।

प्रारम्भिक अनुसन्धानबाट हत्यामा ३१ वर्षीय मानबहादुर माखिमको सलग्नता रहेको निचोडनजिक प्रहरी पुगेको छ। घटनाको अर्को दिन मंगलबार माखिम झुन्डिएर मरेको अवस्थामा फेला परेका थिए। माखिम हत्या गरिएका बमबहादुर फियाकका कान्छा ज्वाइँ थिए।

घटनामा अरुको पनि संलग्नता थियो÷ थिएन भन्ने कोणबाट पनिअनुसन्धान जारी रहेको अधिकारीले बताएका छन्। प्रारम्भिक अनुसन्धानबाट हत्यामा माखिमको संलग्नता रहेको अनुमानमा पुगिएको पाँचथरका प्रहरी प्रमुख कुँवरले बताए। ‘हत्यामा अरुको पनि सहयोग तथा संलग्नता थियो÷थिएन भन्ने विषयमा अनुसन्धान गरिरहेका छौं। पोस्टमार्टम र अन्य रिर्पार्ट आउन बाँकी छ।

सबै विवरण प्राप्त भएपछि निचोडमा पुगिने छ। सोमबार राति माखिमले प्रयोग गरेको मोबाइल फोनको लोकेसन घटनास्थल आसपास देखिन्छ। त्यहाँबाट उनी झुन्डिएको ठाउँसम्म पुगेको मोबाइल लोकेसन देखिएको छ’, कुँवरले भने, ‘माखिम दम्पति सम्बन्ध राम्रो नभएर सम्बन्धविच्छेदको चरणमा पुगेको रहेछ। केही समय अघिदेखि मनकुमारी ९माखिमकी पत्नी, जसको हत्या भएको छ, मानसिक रुपमा विछिप्त भएको आफन्त बताउँछन्।

झुन्डिएको ठाँउनजिकै माखिमले प्रयोग गरेको झोला, खुकुरी, रगत लागेको कपडा भेटिएको छ। विस्तृत अध्ययन गर्दैछौं, तथ्य खुल्न बाँकी छ।’ अन्य कोणबाट पनि अनुसन्धान भइरहेको उनले बताए।

माखिमले झुन्डिएको अवस्थामा मृत फेला परेपछि विभिन्न शंकाका उब्जिएको छ। उनी एक्लैले नौजनाको हत्या कसरी गर्न भन्ने प्रश्न निकै चर्को गरी उठिरहेको छ। ‘हत्यामा उनीमात्र संलग्न थिए कि अरु पनि भन्ने खोजिरहेका छौं। तथ्य खुल्न केही समय लाग्छ,’ कुँवरले भने।

पति माखिमसँग सम्बन्ध बिग्रिएपछि मनकुमारी केही समयदेखि माइतमा बस्दै आएकी थिइन्। वैदेशिक रोजगारीबाट फर्केर आएका मनकुमारीलाई घर लैजान प्रयास माखिमले गरेको खुल्न आएको छ। स्थानिय बुधबारे बजारबाट जबरजस्ती घर लगेर एक दिन राखेपछि मनकुमारी भागेर माइती गएको पाइएको प्रहरीले जनाएको छ।

अदालतमा उनीहरूबीचको सम्बन्ध विच्छेद मुद्दा विचाराधीन भएकै अवस्थामा यो घटना भएको हो। विदेशबाट फर्किएपछि मजदुरी गर्ने माखिम एक्लै बस्ने, उपचार गर्न भन्दै बेलाबेला विराटनगर जाने गरेको अनुसन्धानका क्रममा पाइएको छ।

‘उनले घरवार पनि भएन, पैसा पनि कमाइएन भन्दै गाँउलेसँग बेलाबेलामा कुरा गरेको आफन्त तथा छिमेकीले बताएका छन्’ कुवँरले भने। सोमबार राति घरमा सुतिरहेका बमबहादुरसहित परिवारका चारजना र उनका अर्का ज्वाइँ धनराज सेर्माको परिवारका नौजनाको हत्या भएको थियो। नागरिक दैनिकमा खबर छ ।