समाज

आर्थिक प्रलोभनमा नपर्ने बिर्तामोडका नयाँ डिएसपीको दाबी

By admin

May 24, 2019

झापा । बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनी सम्हाल्न आइपुगेका डिएसपी मोहनकुमार थापाको आफू भष्ट्रचार नगर्ने प्रतिबद्धता जनाएका छन् ।

पछिल्लो समय प्रहरी विवादमा आउने कारण नै आर्थिक भएकोले आर्थिक अनियमिततामा आफू नपर्ने उनको दाबी थियो । शुक्रबार पत्रकारसँगको भेटघाटमा डिएसपी थापाले प्रहरीभित्रको शुद्धीकरण आफ्नो पहिलो प्राथमिकता भएको बताए । उनले पूर्वको केन्द्रका रुपमा विकसित हुँदै गएको शहर बिर्तामोडमा अपराधका घटना पनि विभिन्न प्रकृतिका हुने भएकाले त्यसमा सबैसँग सहकार्य गरेर कार्य गर्ने बताए ।

इलाका प्रहरी कार्यालय अनारमनीमा आएका धेरैजसो प्रमुख विवादकै कारण यहाँबाट विदाई हुने गरेका छन् । केहीले राम्रा काम गरे पनि भुवनेश्वर तिवारी, राजकुमार सिलवाल, कृष्णप्रसाद कोइराला र सुवास खड्काको बिर्तामोड बसाई सुखद् रहेन । इलाका प्रहरी कार्यालय अनारमनीका पछिल्ला डिएसपीहरु एकपछि अर्को विवादमा परेपछि यहाँको नेतृत्व निक्कै चुनौतीपूर्ण मानिन्छ ।

यसअघिका डिएसपी सुवास खड्का आफ्नै कुर्सीमा बस्न दिएपछि विवादमा तानिएर छानविनमा परेका हुन् । खड्का अघिका डिएसपी कृष्णप्रसाद कोइराला पनि पीडितको उजुरी नलिएर उनीहरुकै जग्गा बिक्रीमा दबाब दिएको भन्दै विवादमा परेका थिए । विगतको कार्य मुल्यांकन, संगठनभित्रको माथिल्लो पहुँच र जिल्लाका केही सामाजिक अभियन्ताको सिफारिसका कारण कोइराला कारबाही हुनबाट जोगिएका थिए ।

त्यसबेला केही प्रहरीको आर्थिक अनियमितता र अवैध असुली धन्दा समेत सार्वजनिक भएको थियो । त्यसपछि बिहीबार मात्रै बिर्तामोडको इलाका सम्हाल्न आईपुगेका थापाले पत्रकार सम्मेलनमा आर्थिक अनियमितता नगर्ने भन्दै पटक पटक दोहो¥याए ।

महानगरीय प्रहरी परिसर टेकुको मुद्दा शाखामा कार्यरत डिएसपी थापा अनारमनीका लागि ११औं डिएसपी हुन् । प्रहरी संगठनमा बौद्धिक मानिएका डिएसपी थापाले बिर्तामोड प्रहरीको गुमेको साख फर्काउछन् भन्ने आशा संगठनले राखेको छ ।