झापा । धुलाबारीमा भएको आमाछोरीको हत्या प्रयासमा संलग्न भएको आरोपमा दुई जना शंकास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले बुधवार राति मेचीनगर–१० धुलावारीस्थित प्रशंसा टोलमा घरमा सुतेकी महिलामाथि साङ्घातिक आक्रमण भएको घटनामा संलग्न भएको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिएको हो ।
पति वैदेशिक रोजगारीमा गएको र घरमा बिरामी सासु र ८ वर्षकी छोरी मात्र भएको अवस्थामा राति घरभित्र पसेर आक्रमणकारीले ४० वर्षीया आरती चौहान बुढाथोकीलाई फलामे रडले टाउकोमा हिर्काएर मरणासन्न बनाएका थिए ।
उपचारका लागि बिएन्डसी हस्पिटल पुर्याइएकी घाइतेको अझै होश खुलेको छैन । सोही कारण प्रहरीले उनको प्रारम्भिक बयान लिन बाँकी नै छ । आरतीको उपचार भइरहेका आइसीयु कक्ष बाहिर प्रहरीको निगरानी रहेको अस्पताल स्रोतले जनाएको छ ।
आक्रमणको प्रत्यक्षदर्शीको रुपमा रहेकी आरतीकी ८ वर्षीया छोरी अर्पणालाई प्रहरीले आफुसँगै राखेको छ । अर्पणाको वयान प्रहरीका लागि अभियुक्तसम्म पुग्ने र पहिचान गर्ने महत्वपूर्ण आधार बनेको छ ।
प्रहरी स्रोतका अनुसार सो घटनामा संलग्न भएको आशङ्कामा मेचीनगर–१० कै दुई युवा पक्राउ परेका हुन् । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।
सबै प्रमाण जुटाइसकेपछि प्रहरीले अभियुक्त सार्वजनिक गर्ने जनाएको छ । हाल पक्राउ परेका युवाहरुको नाम प्रहरीले सार्वजनिक नगरिदिन आग्रह गरेको छ ।
घटना भएको राति घटनास्थल नजिक हिँडेको एउटा सीसी क्यामेरामा कैद भएको फुटेज प्रहरीले फेला पारेको र पीडित व्यक्तिसँग मोवाइलमा सम्पर्क भएको कल डिटेल्स पनि प्रहरीले सङ्कलन गरिसकेको बताइएको छ । बरफ फ्याक्ट्री जाने बाटोमा रहेको सीसी क्यामेराको फुटेजमा सन्दिग्ध अभियुक्तहरु देखिएका थिए ।
पक्राउ परेका शङ्कास्पद व्यक्तिहरु नै आक्रमणकारी हुन् भनेर घाइतेकी छोरी अर्पणाले पुष्टि गरिसकेको र रगत लत्पतिएको केही कपडा समेत अभियुक्तहरुसँगै फेला परिसकेको प्रहरी स्रोतले जनाएको छ ।