समाज

मकालु हिमाल चढ्दा निमाको ज्यान गयो

By admin

May 26, 2019

संखुवासभा- मकालु गाउँपालिका-२ मा पर्ने मकालु हिमाल (८४६३ मि.) आरोहण गर्न गएका एक नेपालीको ज्यान गएको छ ।

हिमाल आरोहण गर्न गएका मकालु गाउँपालिका-२ नुर्बुगाउँका ४४ वर्षीय निमा तेन्जी शेर्पाको ज्यान गएको संखुवासभाका प्रहरी नायब उपरीक्षक मिम लामाले बताउनुभयो । उहाँका अनुसार गएको शुक्रबार मकालु हिमाल आरोहण गर्न जाने क्रममा शेर्पाको ज्यान गएको हो ।

ज्यान गुमाएका शेर्पाको शव आइतबार नै हेलिकप्टरबाट सदरमुकाम खाँदबारी ल्याइएको छ । उनको शव खाँदबारी अस्पतालमा राखिएको छ । पोष्टमर्टमपछि शव आफन्तलाई जिम्मा दिइने प्रहरी उपरीक्षक लामाले जानकारी दिनुभयो ।

त्यसैगरी गएको जेठ २ गते पनि दुई भारतीय नागरिक ५४ वर्षीय दिपनकर घिडिस् र ३५ वर्षीय नारायण सिंहको ज्यान गएको थियो । मकालु हिमाल आरोहण गर्न जाने क्रममा मकालु बेस क्याम्प-४ मा दुई जनाको ज्यान गएको थियो ।

उनीहरु २०७५ चैत २७ गते सेभेन समिट कम्पनी मार्फत मकालु हिमाल आरोहण गर्न आएका थिए । मृतक भारतीय नागरिकको शव शनिबार हेलिकप्टरबाट सोलुखम्बु ल्याइएको छ ।

हिउँदको समयमा विश्वको पाँचौ अग्लो मकालु हिमाल आरोहण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको निकै भिड लाग्ने गर्दछ ।