समाज

गाउँ रित्तो बनाएर बाटो बनाउन जुटे ओलाङचुङगोलाबासी

By admin

May 27, 2019

ताप्लेजुङ। अरु समयमा गलैँचा बुन्न र घरायसी काममा व्यस्त हुने ताप्लेजुङको ओलाङचुङगोलाकी याङ्जे शेर्पा खाने बस्ने प्रवन्धसहित झण्डै चार हजार मिटर उचाईको हाराहारीमा पर्ने थाँङ्जेमा पुग्नुभएको छ ।

उहाँसहित करिब २५ जना महिला संगै छन् । पुरुष समेत गरेर झण्डै ७० जना ओलाङचुङगोलाबासी शनिबार त्यहाँ पुगेका हुन् । खाने बस्ने प्रवन्ध सहित उनीहरु ग्रेट हिमालयन ट्रेल अन्तरगत पर्ने नागोदेखि थाँङ्जे सम्मको पदमार्ग निर्माण तथा स्तरोन्नतिका लागि त्यहाँ पुगेका हुन् । अब झण्डै असार मसान्तसम्म उनीहरु उक्त पदमार्गमा सोलिङ हाल्ने तथा स्तरोन्नति गर्ने काममा नै व्यस्त हुन्छन् । काम गर्नु पर्ने ठाउँ बस्तीदेखि निकै टाढा रहेकाले उनीहरु खाने बस्ने प्रवन्धसहित गएका हुन् ।

प्रदेश सरकारबाट पदमार्ग सुधारका लागि विनियोजित ५० लाखको काम सक्न उनीहरु घर गाउँ छाडेर यसरी कस्सिएका हुन् । गाउँ छाडेर सबैजना काममा हिँडेपछि गाउँ नै सुनसान बनेको छ । जेठ लाग्दासम्म बाक्लो हिमपात हुने भएकाले सो क्षेत्रमा यसअघि काम गर्न नसकिएको घाँङ्लुङ संरक्षण उपभोक्ता समितिको अध्यक्ष छेतेन शेर्पाले बताउनुभयो ।

‘करिब ३८ सय मिटरदेखि ४ हजार मिटरको उचाईसम्म पर्ने पदमार्गको स्तरोन्नतिको काममा हिउँ परेकाले अबरोध भयो, अहिले अलि कम भएकाले सबै गाउँलेलाई समुह समुहमा विभाजन गरेर काममा खटाएका हौँ, शनिबार झण्डै ७० जनाको हाराहारीमा गाउँले कार्य क्षेत्रमा पुगेकाछन्अ’, ध्यक्ष शेर्पाले भन्नुभयो ।

असार मसान्तसम्ममा जसरी पनि योजना सम्पन्न गर्नु पर्ने हुँदा गाउँले सबै मिलेर लागि परेको उहाँले बताउनुभयो । ठुलो संख्यामा कामदार पुगेकाले समयमा नै काम सकिने उहाँको भनाई छ । उहाँका अनुसार प्रत्येक घरबाट १ जनादेखि ३ जनासम्म संलग्न छन् ।

करिब ५ किलोमिटर पदमार्गभित्र आवश्यक पर्ने ठाउँमा सोलिङ गर्नु पर्ने साथै बाटो पन्छाउनुपर्ने काम छ । कामदारलाई तीन समुहमा विभाजन गरिएको छ ।

पदमार्गलाई समेत विभिन्न भागमा विभाजित गरेर सबै समुहलाई काम गर्न सजिलो, अप्ठ्यारो भाग बराबरी पर्ने गरि मिलाईएको छ । काम गर्ने हरेक समुहको नेतृत्वकर्ता छनौट गरिएको छ भने समितिका पदाधिकारी तथा सदस्यहरु समेत सबै समुहमा सामेल छन् ।

यता रोजगारीसहित आफ्नो गाउँठाउँको विकासमा आफैँ जुट्न पाउँदा स्थानीयबासी खुसी छन् । ‘पहिलेजस्तो पशुपालन, व्यापार व्यवसाय छैन, दु: छ, आजभोली वडाको योजनाका कामहरु पाईन्छ, अब पदमार्गको काममा समेत जान पाईएको छ, खुसी छौँ’, स्थानीय छिरिङ शेर्पाले भन्नुभयो । यसअघि वडाको योजना अन्तरगत बस्तीमा नै ढल निर्माण गर्ने लगायतका काममा स्थानीय नै सामेल भएका थिए ।