समाज

हट्ला त माइखोलाको जोखिम ?

By admin

May 28, 2019

इलाम- सुक्खायाममा टेम्पो चढेर महमाई र दानाबारी आउजाउ गर्न कठिन छैन । बीचमा पर्ने माईखोलामा बाँसको अस्थायी पुल भएकाले साइकल र मोटरसाइकलमा हुइँकिन पनि सहज छ ।

इलामको माई नगरपालिकास्थित महमाई र दानबारीबीचको माइखोलामा अस्थायी पुलबाट तर्दै स्थानीय ।तस्बिर स् विप्लवरकान्तिपुर

तर, बर्खा लाग्नसाथ माइ नगरपालिकास्थित महमाईका बासिन्दाको दैनिकी ठिक उल्टो हुन्छ । खोला बढ्नासाथ सवारी साधनहरू वारीको वारी र पारीको पारी रहन्छन् भने बाँसको पुलको नामनिसान हुँदैन । आउजाउदेखि दैनिक उपभोग्य सामग्री खरिद र दुःख बिमार पर्दा पनि स्थानीय डुंगाको साहारामा पुग्छन् । डुंगाको यात्रा सुरक्षित नहुँदा यो गाउँका बासिन्दा समस्यामा पर्ने गरेका छन् ।

लामो समयदेखि यस्तै समस्या झेल्दै आएका दिक्षणी महमाई, लारुम्वालगायत क्षेत्रका बासिन्दाले अहिले भने राहतको श्वास फेर्न थालेका छन् । माइखोलामा निर्माणाधीन पक्की पुलको काम अन्तिम अवस्थामा पुगेकाले यो वर्ष आउजाउ गर्दैमा ज्यान गुमाउनु नपर्लाकी भन्ने अधिकांशलाई लागेको छ ।

‘हिउँदमा सुगम देखिए पनि बर्खामा यो गाउँ कालापानी जस्तै हो’, स्थानीय विष्णु कार्कीले भने, ‘पुल निर्माण सकिँदा महमाई क्षेत्रका बासिन्दालाई आउजाउमा मात्र होइन यहाँको समग्र आर्थिक, सामाजिक, स्वास्थ्यलगायत क्षेत्रमा उल्लेख्य फाइदा पुग्छ ।’

जिल्लाकै लामो यो पुलको काम अब थोरै मात्र बाँकी छ । बर्खा लागुन्जेल सम्ममा पैदल यात्रीलाई ओहोर–दोहोर गराउन सक्ने बनाउन पुल निर्माण कम्पनी क्रियाशील छ । ‘जसरी पनि यो बर्खा अघि नै मानिस हिंड्ने व्यवस्था गर्छौं भनेर ठेकेदारहरू काममा जुटेका छन्,’ स्थानीय काजिमान बराइलीले भने, ‘कामको गति सन्तोषजनक भएकाले यो पटक जोखिम मोलेर माइको जङगार तर्नु नपर्लाकी भन्ने लागेको छ ।’

५ सय ५० मिटर लामो पुलको काम करिब ८५ प्रतिशत सकिएको छ । पुलको १४ वटा पिल्लर तयार भएर १२ वटा स्ल्याभ तयार भएका छन् । कम्तीमा सबै काम सकेर यातायात सञ्चालन गर्न केही महिना लाग्ने भए पनि मानिस आउजाउ गर्न भने यही पटकदेखि सकिने अवस्था तयार भएको स्थानीय बताउँछन् ।

२५ करोड ७१ लाख लागतमा ५ वर्षमा निर्माण सक्ने गरी २०६९ सालबाट सडक विभाग पुल महाशाखा अन्तर्गतको पुल योजना पूर्वी सेक्टर नं १ धरानमार्फत काम अघि बढेको हो । सूर्य इलाइट जेभी कम्पनीले काम गरिरहेको छ ।

भूकम्प र नाका बन्दीका कारण काममा केही ढिलो भए पनि अहिले रफ्तार बढेकाले स्थानीय थप उत्साहित भएका हुन् । डुङ्गाको बाध्यकारी यात्रा गर्दा २०७३ असोज २८ गते आठ जनाको ज्यान गएको थियो । त्यस यता पनि पुल बनि नसकेकाले बर्खायाममा डुङ्गाको विकल्प छैन । कान्तिपुर दैनिकमा खबर छ ।