खेलकुद

कनकाइमाथि गोल वर्षासँगै मेचीनगर फाइनलमा

By admin

May 30, 2019

फिक्कल । डिफेन्डिङ च्याम्पियन मेचीनगर नगरपालिका झापा इलामको सूर्योदय नगरपालिका १२ स्थित करफोकमा जारी दोश्रो सूर्योदय मेयरकपको फाइनल प्रवेश गरेको छ ।

बिहीबार भएको अन्तिम सेमिफाइनलमा कनकाइ नगरपालिकालाई झापालाई ७–० गोलको फराकिलो अन्तरले पराजित गर्दै मेचीनगर उपाधि नजिक पुगेको हो ।

मेचीनगरको जीतमा खमिरगिल्सन कन्दङवाले ह्रयाट्रिक गरे । उनले खेलको ८औ, पहिलो हाफको इन्जुरी र ४६औँ मिनेटमा गोल गर्दै ह्रयाट्रिक पूरा गरेका हुन् । त्यसैगरी एन्जल गुरुङ, पुजन उपरकोटी, अशोक खवास र पुजन राईले एक-एक गोल गरे । खेल अवधिभर मेचीनगरले बल नियन्त्रणमा राखेको थियो ।

हिलाम्मे खेल मैदानमा गोल गर्ने केही राम्रा अवसरहरु मेचीनगरले गुमाएको थियो । कन्काईको कमजोर प्रर्दशन भएपछि मेचीनगरका गोलरक्षक दिनेश थापा मगर निक्कै फुर्सदिलो देखिन्थे । मेचीनगरले माई नगरपालिकालाई ३-० ले हराउँदै सेमिफाइनल पुगेको थियो भने कनकाइले इलाम नगरपालिकालाई २-० ले हराएको थियो ।

जीतसँगै मेचीनगरले कम्तिमा १ लाख रुपैयाँ सुरक्षित गरेको छ । अब उपाधिका लागि शनिबार हुने फाइनलमा मेचीनगरको भेट देउमाई नगरपालिका इलामसँग हुनेछ । देउमाईले यसअघि शिवसतासी नगरपालिका झापालाई ४-२ गोल अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको हो ।

प्रतियोगिताका विजेताले नगद २ लाख र उपविजेताले १ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही ८ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगितामा इलामका ४ र झापाका ५ गरी ९ वटा नगरपालिका टिमको सहभागिता रहेको छ । प्रतियोगितामा आयोजक सूर्योदय नगरपालिकासहित इलामका इलाम, देउमाई र माई नगरपालिका तथा झापाका दमक, शिवसतासी, कनकाइ, मेचीनगर र अर्जुनधारा नगरपालिकाको सहभागिता थियो ।

खेलको माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्ने र नगरपालिकाभित्रका युवालाई दुव्र्यसनबाट मुक्त गराई उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।