खेलकुद

मेचीनगर खेलकुद : फुटबलको निर्णय टाइब्रेकरबाट

By admin

May 31, 2019

झापा । मेचीनगरमा जारी प्रथम मेचीनगर खेलकुद महोत्सवअन्तर्गत शुक्रबार नगरस्तरीय अन्तरमावि छात्र तथा छात्रा फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

काँकरभिट्टा माविको खेलमैदानमा भएको फुटबल प्रतियोगितामा एभरेष्ट अंग्रेजी मावि, हिमालय एकाडेमी, पशुपति अंग्रेजी मावि, आदर्श विद्या मन्दिर, पशुपति मावि, कवि शिरोमणि मावि, तारापुञ्जसहित १० वटा विद्यालयले जीत दर्ता गरेका छन् । उता छात्रातर्फ सरस्वती मावि नआए पछि ज्यामिरगढी माविलाई वाकओभरमा विजयी घोषणा गरियो ।

एभरेष्टले किड्स अंग्रेजी माविमाथि टाइब्रेकरमा ४÷३ गोलअन्तरमा जीत दर्ता गरेको थियो भने हिमालय एकाडेमीले पनि टाइब्रेकरमा सरस्वती माविलाई ४-३ गोलले पराजित गर्यो । यसैगरी पशुपति अंग्रेजी माविले दुर्गा अंग्रेजी माविलाई ४-१ गोलअन्तरले पराजित गर्यो । यी दुई टिमको निर्णय पनि टाइब्रेकरबाट लिइएको थियो ।

आदर्श विद्या मन्दिरले सनसाइन अंग्रेजी माविमाथि ६-० को फराकिलो जीत दर्ता गर्यो । उता पवित्रा मावि निर्धारित समयसम्म मैदान प्रवेश नगरेपछि पशुपति माविले वाकओभरमा खेल जित्यो । कवि शिरोमणि माविले पाथीभरा शिक्षा सदनलाई ५-४ गोल अन्तरले पराजित गरेको थियो । उता ज्यामिरगढी र तारापुञ्ज माविबीच भएको खेलमा ज्यामिरगढी पराजित भयो । टाइब्रेकरमा तारापुञ्जले ३-२ को जीत दर्ता गरेको थियो । सीताराम सामुदायिक विद्यालय लोफोफोरस माविसँग २-१ ले पराजित भयो ।

छात्रातर्फको खेलमा सरस्वती मावि नआएका कारण ज्यामिरगढी विजयी भएको घोषणा गरियो ।

उता, तुर्केनी खेल मैदानमा सम्पन्न छात्रतर्फको क्रिकेट प्रतियोगितामा विद्या विकासले पशुपति माविलाई ९ विकेटले, पाथीभरा शिक्षा सदनलाई नर्थ प्वाईन्टले ३३ रनले, एभरेष्ट स्कुललाई हिमालयन एकाडेमीले २१ रनले पराजित गरेको थियो । काँकरभिट्टा मावि र आदर्श मावि वाकओभरमा विजयी भए ।