खेलकुद

आदिवासी रंगशाला जोगाउन संघर्ष समिति

By admin

June 08, 2019

झापा । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चअन्तर्गत संघीय लिम्बुवान मञ्च नेपालले झापाको कमल गाउँपालिका लखनपुरमा बन्न लागेको आदिवासी रंगशाला तथा स्मृति पार्कलाई मदन भण्डारी रंगशाला बनाउने राज्यको षडयन्त्रको विरुद्ध आन्दोनलको घोषणा गरेको छ ।

मञ्चले जेठ २४ गते दमकमा एक बैठक राखी संघीय लिम्बुवान मञ्च नेपालका उपमहासचिव भानु भट्टराईको संयोजकत्वमा ४७ सदस्य ‘आदिवासी रंगशाला तथा स्मृति पार्क निर्माण संघर्ष समिति’ निर्माण गरी आन्दोलन गर्ने तयारी गरेकोछ ।

पाथीभरा शसस्त्र प्रहरी बलका एस।पी। गणेश ठाडा मगरको पहलमा पाथीभरा गणको अगाडि अवस्थित आदिवासीहरुको कपुस्थानलाई उत्खनन् गरेर त्यहाँ आदिवासी रंगशाला, स्मृति पार्क, पेट्रोल पम्प लगायतको संरचना निर्माण गर्ने भन्ने आश्वासन देखाई आदिवासीहरुमाथि अपमान गरेको पुष्टि गर्दै लिम्बुवान मञ्च आन्दोलनमा सरिक भएको हो ।

आदिवासी जनजातिहरुको आई.एल.ओ. १६९लाई राज्यले कार्यन्वयन नगरी उनीहरुको जल, जंगल र जमिन माथि एकाधिकार जमाउने अनि पहिचान र अस्तित्व नै नामेट पार्ने षडयन्त्र गरेको हुँदा त्यसको विरुद्ध लिम्बुवान जस्तोसुकै आन्दोलन गर्न तयार भई अगाडि बढ्ने प्रतिबद्धताका साथ आन्दोलन घोषणा गरेको छ । संघर्ष समितिले आगामी जेष्ठ २७ गते पत्रकार सम्मेलन गर्दै चरणबद्ध संघर्ष कार्यक्रम अगाडि बढाउने बताएको छ ।

आदिवासी रंगशाला तथा स्मृति पार्क निर्माणका लागि भानु भट्टराईको संयोकत्वमा संघर्ष समिति गठन गरिएको छ । जसको सह-संयोजकमा मोहन वेघा रहेका छन् । संघर्ष समिति ४७ सदस्यीय रहेको छ ।