सुनिरा मैनाली,
झापा। सामान्यतया मानिसको मृत्यु भएपछि काजकिरिया घरपरिवारभित्रका मानिसले गर्छन् । परिवारमा कोही पनि नभए सगोत्री (गोत्र मिल्ने) हरुले गर्छन् ।
तर, झापाको अर्जुनधारामा एक दाहाल दम्पत्तिले भने बेसहारा नन्दलाल कोइरालाको मृत्युपछि किरिया गरेका छन् । अर्जुनधारा नगरपलिका वडा नम्बर–११ लक्ष्मीपुरका प्रदिप दाहाल र तुलसा दाहालले परिवारले समाजमा एउटा उदाहरणीय कार्यको सुरुवात गरेका हुन् । कोही नभएपछि लामो समयदेखि अर्जुनधारा नगरपलिका वडा नम्बर-६ मा रमेश काफ्लेको घरमा आश्रय लिएर बसेका कोइरालाको निमोनियाका कारण उपचारका क्रममा मनमोहन अस्पतालमा निधन भएको थियो ।
नातामा काफ्ले परिवारको भान्जाभान्जी पर्ने दाहाल दम्पत्तिले बेसाहारा जीवन बिताइरहेका कोइरालाको मृत्यु पश्चात मोक्ष प्राप्तिका लागि आफूहरु खुसीले किरियामा बसेकोे बताए ।
कामको सिलसिलामा भौतारिरहेका कोइरालासँग २०६८ सालमा बिर्तामोडमा भेट भएर काफ्ले परिवारले काम गर्ने सहमतिमा घर ल्याएको परिवारका सदस्य रमेश काफ्लेले बताए । उनले भने, ‘नन्दलाल काका हामीसँगै बस्ने, खाने, हिँड्ने गर्नुहुन्थ्यो । सधैँ शालीन र सहयोगी काका नहुँदा हाम्रो सहारा गुमेको महसुस भएको छ ।’
काफ्ले परिवारले कोइरालाको काम गर्ने इच्छा शक्तिलाई बुझेपछि घरमा आफ्नै मान्छे सम्झिएर राखेका थिए । परिवारमा आफन्तझँै लामो समयदेखि जीवन बिताइरहेका कोइरालाको निधनपछि आफ्नै घरको सदस्य सम्झिएर काजकिरिया गरिरहेको काफ्लेले बताएका छन् । संखुवासभा जिल्लामा २०१५ सालमा जन्मिएका कोइरालाले २ वर्षको हुँदा आमा र ६ वर्षको हुँदा बुवा गुमाएपछि सहाराबिहीन भएर धेरै ठाउँ हिँड्ने क्रममा २५-३० वर्ष असाममा बसेका कोइरालाको भनाइलाई उद्धृत गर्दै काफ्लेले बताए । उनले थपे, ‘२०६९ सालमा हामीले नै काकाको ब्रतवन्ध गरिदिएका थियौ । काका ४ वर्षपछि केही नभनी घर छोडेर जानुभयो तर केही समयपछि आफैँ हाम्रै सहारामा आउनु भएको हो ।’
काफ्ले परिवारले कोइरालाको नाममा अक्षयकोष स्थापना गरेर गरीब दुःखी विद्यार्थीहरुलाई सहयोग गर्ने सोच रहेको जनाएको छ । बेसहारा जीवन बिताइरहेका कोइराला अविवाहित थिए ।