इलाम । घुस लिने कर्मचारीलाई कारवाहीको माग गर्दै इलामको माई नगरपालिकाका स्थानीयले आइतबार नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।
नगरपालिकाका सव-इन्जिनियर गोविन्द ढकाल र अशिष्टेन सव-इन्जिनियर विकास राईले स्थानीय उपभोक्ता समितीसँग खुलेआम घुस रकम लिने गरेको समाचार सार्वजनिक भएपछि स्थानीय उपभोक्ता समितीका सदस्यसहित स्थानीयबासीले दबावस्वरुप नगरपालिकामा ज्ञापनपत्र बुझाएका हुन् ।
इन्जिनियरद्वयले स्थानीय उपभोक्ताले बाटो निमार्णको प्राविधीक स्टीमेट बनाउँदा, कामको निरीक्षण तथा अनुगमनका क्रममा खुलेआम घुस रकम लिने गरेको भन्दै माई नगरपालिकाका विभिन्न वडामा रहेका उपभोक्ता समितीले ती कर्मचारीलाई कारवाही हुनुपर्ने माग गर्दै आएका छन् । उपभोक्ता समितीका सदस्य र स्थानीयबासीले भ्रष्ट कर्मचारीलाई तत्काल कारवाही हुनुपर्ने भन्दै हस्ताक्षरसहितको ज्ञापनपत्र नगरपालिकाका प्रमुख दिपक थेवेको कार्यकक्षमा बुझाईएको स्थानीय लालबहादुर तामाङले जानकारी दिए ।
यसैबीच, नेपाल तामाङ घेदुङ संघ माई नगर कमिटीले समेत घुस लिने कर्मचारीलाई कारवाहीको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । नगर अध्यक्ष दीलबहादुर गोले तामाङद्वारा हस्ताक्षरीत ज्ञापनपत्रमा घुसकाण्डको ढाकछोप नगरी सत्यतथ्य बाहिर ल्याउन माग गरिएको छ ।
माई नगरपालिका-५ को हाङ्गखिम-खरबनी सडक खण्डको प्राविधीक स्टमेट बनाउदा नै ढकालले १० हजार रुपैयाँ खुसबापत रकम लिएको समाचार सार्वजनिक भएको थियो । उनले आफ्ना कार्यालयका अशिष्टेन सव-इन्जिनियर राईलाई ५ हजार र उनी स्वयंलाई ५ हजार गरी १० हजार रुपैयाँ घुस रकम असुल गरेका हुन् ।
उक्त सडक खण्डको कामका लागि इन्जिनियरद्वय ढकाल र राईले २५ हजार माग गरेका थिए । बाँकी रकम नदिएको उपभोक्ता समितीले निर्धारित समयमा नै काम सम्पन्न गरेपनि अनुगमनका लागि पटक-पटक बोलाउदा समेत विभिन्न बहाना गरेर टार्ने गरेको समाचार सार्वजनिक भएको थियो ।
समाचार सार्वजनिक भएपछि नगरपालिकाले गत मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा कर्मचारी आफू जोगिने र जनप्रतिनिधि कर्मचारी जोगाउने बाहेक चुरो कुरो आउन सकेको थिएन । घुसकाण्ड सार्वजनिक भएपछि पनि नगरपालिकाले आफ्ना कर्मचारीलाई छानबिनको दायरामा नल्याएपछि स्थानीय आक्रोशित बनेका छन् ।