समाज

भारतीय सवारीमाथि पूर्वी नाकामा कडाइ

By admin

June 10, 2019

काँकरभिट्टा । सिमावर्ती क्षेत्रमा खुलेआम भारतीय सवारीहरुको प्रयोग बढ्न थालेपछि झापाको पूर्वी नाकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेको छ ।

पूर्वी नाका काँकरभिट्टा क्षेत्रमा नेपाल प्रहरीले पनि भारतीय सवारीसाधनमाथि निगरानी बढाएको छ । झापाको काँकरभिट्टा—पानीट्याकी नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय नम्बर प्लेटबाहक सवारीको यकिन तथ्यांक छैन । ‘भन्सार शुल्क’ र ‘सुविधा शुल्क’ काट्नेको संख्या न्यून छ । तर, नेपालका सिमावर्ती क्षेत्रका बासिन्दाले समेत भारतीय नम्बर प्लेटका सवारी चलाउने क्रम बढेको छ ।

यस्तो अवस्थामा दुवै देशमा हुने सवारीसाधनको चोरी धन्दा रोक्न र आपराधिक क्रियाकलाप अन्त्य गर्न भारतीय सवारीसाधनमा समेत निगरानी बढाइएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक महेश थापाले बताए ।

ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार वैशाख र जेठ महिनाको अवधिमा मात्रै एक हजारभन्दा बढी भारतीय नम्बर प्लेटबाहक सवारीसाधनलाई कारँबाही गरिएको छ । विशेष गरेर ‘भन्सार शुल्क’ र ‘सुविधा शुल्क’ नलिएका सवारी साधन झापाका ग्रामीण भेगसम्म पुग्ने गरेको ट्राफिक प्रहरी कार्यालय काँकरभिट्टा चेक पोष्टका इन्चार्ज प्रहरी नायव निरीक्षक कालीदास रेग्मीले बताए ।

ट्राफिक प्रहरीका अनुसार भारतीय सवारीलाई निगरानी गर्न सिमावर्ती भित्री सडकहरुमा समेत विभिन्न समयमा चेकजाँच गरिन थालिएको छ । जसका कारण दुर्घटना न्यूनीकरणमा समेत टेवा पुगेको बताइएको छ ।

लामो समयदेखि ट्राफिक प्रहरी कार्यालय झापामा सक्रिय रहेका प्रहरी नायब निरीक्षक रेग्मीले सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा रहँदा उनले विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुका साथै दुर्घटना भएको स्थानमा आफैं पुग्ने गरेका थिए ।

हाल मेचीनगर अन्र्तगत काँकरभिट्टाको जिम्मेवारी सम्हाल्न पुगेका रेग्मीले जिल्लामा नै पहिलो पटक दुर्घटना न्यूनीकरणमा सहयोग पु¥याउने उद्देश्यले मेचीनगर-६ स्थित सडक खण्डमा बसपार्क प्रवेश गर्ने र निस्कने स्थानमा ट्राफिक डमी राखेका छन् ।

यस क्षेत्रमा नो पार्किङ बोर्ड, विद्यालयमा ट्राफिक नियम पालानासम्बन्धी प्रशिक्षण प्रदान गरिएको रेग्मीले जानकारी दिए । त्यसयता ट्राफिक नियम उल्लंघनका घटना समेत घटेको स्थानीयले बताएका छन् । जिल्ला ट्राफिक कार्यालयमा रहँदा उनले सँगालेका धेरै अनुभव अहिले पूर्वी क्षेत्रमा प्रयोग गर्दै दुर्घटना न्यूनीकरणमा लागेका हुन् ।