समाज

लक्षित वर्गलाई लेखा र उद्घोषण तालिम

By admin

June 19, 2019

झापा । अर्जुनधारा नगरपालिकाको ७ नम्बर वडा कार्यालयले लक्षित वर्गलाई बुधबारदेखि लेखा र उद्घोषण तालिम सुरु गरेको छ ।

वडा कार्यालयको सभाहलमा दुवै तालिमको उद्घाटन नगर प्रमुख हरिकुमार रानाले गरेका थिए । लेखा हरेक व्यक्तिको जिन्दगीको उपयोगी विषय भएको बताउँदै मेयर रानाले बैंकर र व्यवसायीका लागिमात्र नभएको स्पष्ट पारे ।

सहज जीवनयापनका लागि पनि लेखा अनिवार्य विषय भएकोमा जोड दिएका उनले लेखा बुझ्ने जोकोहीले सहज व्यवस्थापन गर्न सक्ने दाबी गरे । परिवारदेखि कार्यालयसम्म प्रभावकारी बनिरहेको लेखा विषय बुझ्न जरुरी रहेको उनको भनाइ थियो ।

त्यस्तै, समाजमा शान्ति स्थापनार्थ अभिव्यक्ति आवश्यक रहेको भन्दै उद्घोषण तालिमले व्यक्तित्व विकासमा पनि सघाउ पुराउने बताए । अभ्यास, अध्ययन र वातावरण उद्घोषकका लागि तीन कुरा अनिवार्य हुनुपर्ने अनुरोध गर्दै मेयर रानाले अभिव्यक्ति प्रष्ट राख्नसके आफूभित्र भएको कुण्ठा, आवेग स्वतः नष्ट भएर जाने भएकाले पनि हरेक नागरिकका लागि तालिम अनिवार्य रहेकोमा जोड दिए ।

वडा अध्यक्ष नविन ढुंगानाले लक्षित वर्गलाई कुन कार्यक्रम ल्याइँदा प्रभावकारी हुन्छ भन्ने अगुवाबाटै आएको सुझावलाई व्यवहारमा उतारेको जानकारी दिए । लक्षित समुदायको सीमित बजेट टुक्रिँदा काम नबन्ने भएकाले पनि अगुवाले यी दुई तालिम सिफारिस गरेको उनले बताए ।

वडा सदस्य देवकुमार राईले सञ्चालन गरेको कार्यक्रममा सदस्य शारदा भट्टराई, दलित अगुवा भोला परियारलगायतले आफ्ना भनाइ राखेका थिए भने वडा सचिव प्रकाश पौडेलले स्वागत गरेका थिए ।

५ दिनसम्म चल्ने दुवै तालिम सम्पन्न गर्न वडाले २ लाख रुपैयाँ विनियोजन गरेको छ । लेखा तालिममा नगरका लेखा अधिकृत आरसी घिमिरे र उद्घोषण तालिममा सञ्चारकर्मी, कुमार भट्टराई, दिपीन राई, रमेश समदर्शी, अमित खम्बू र सुष्मा त्रिखत्रीले सहजीकरण गर्नेछन् । तालिममा ३०-३० जना सहभागी छन् ।