अमित खम्बू, झापा । चालूआर्थिक वर्ष ०७५/०७६को ११ महिना बित्दा अर्जुनधारा नगरपालिकामा नगरस्तरीयतर्फ ९१.७४ प्रतिशत र वडास्तरीयतर्फ ७७.३२ प्रतिशत योजनाको काम सम्पन्न भएको छ ।
चालू आर्थिक वर्षको नगरस्तरीय नीति तथा कार्यक्रम, योजना, सेवा प्रवाहलगायतका विषयमा नगरपालिकाले बुधबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले उक्त तथ्याङ्क सार्वजनिक गरेका हुन् ।
तथ्याङ्क अनुसार चालू आर्थिक वर्षमा ५५ वटा नगरस्तरीय योजनाका लागि १० करोड १० लाख ८० हजार रुपैयाँ र ४ सय ३७ वटा वडास्तरीय योजनाका लागि १२ करोड २७ लाख ५० हजार रुपैयाँ बजेट स्वीकृत भएको थियो ।
स्वीकृत बजेटमध्ये नगरस्तरीय योजनातर्फ नौ करोड २७ लाख ३० हजार नौ सय ४३ रुपैयाँ र वडास्तरीय योजनातर्फ नौ करोड ४६ लाख ६७ हजार सात सय चार रुपैयाँ आठ पैसा खर्च भएको उल्लेख गरिएको छ ।
त्यसैगरी वडा नम्बर १ले ६२.९१ प्रतिशत, वडा नम्बर २ले ९०.३१ प्रतिशत, वडा नम्बर ३ले ६८.४० प्रतिशत, वडा नम्बर ४ले ९२.०५ प्रतिशत, वडा नम्बर ५ले ५९.५२ प्रतिशत, वडा नम्बर ६ले ६३.०७ प्रतिशत, वडा नम्बर ७ ले ७६.३६ प्रतिशत, वडा नम्बर ८ले ९१.२० प्रतिशत, वडा नम्बर ९ले ८१.३७ प्रतिशत, वडा नम्बर १०ले ७२.८९ प्रतिशत र वडा नम्बर ११ले ९०.१५ प्रतिशत योजना सम्पन्न गरेका छन् । सबैभन्दा बढी योजना सम्पन्न गर्ने वडा नम्बर ४ले ३८ वटा योजनामध्ये ३५ र कम योजना सम्पन्न गर्ने वडा नम्बर ५ले ४९ वटा योजनामध्ये २८ वटा योजना सम्पन्न गरेको बताइएको छ ।
बाँकी योजनाहरु पनि निर्माणको अन्तिम चरणमा रहेको हुँदा असारको दोस्रो सातासम्म सम्पन्न भइसक्ने प्रमुख प्रशासकीय अधिकृत भुर्तेलले जानकारी दिए । त्यस्तै नगर परिषद्बाट स्वीकृत कार्यक्रमहरुको बजेट ६० करोड ८१ लाख सात हजार तीन सय ७१ रुपैयाँ र वार्षिक बजेटमा समावेश नभएका अन्य कार्यक्रमहरुको बजेट ११ करोड ३९ लाख ४० हजार रुपैयाँसहित जम्मा ७२ करोड २० लाख ४७ हजार तीन सय ७१ रुपैयाँमध्ये जेष्ठ मसान्तसम्म स्वीकृत कार्यक्रमहरुतर्फ ४३ करोड ५७ लाख १९ हजार छ सय ८८ रुपैयाँ र अन्य कार्यक्रमहरुतर्फ चार करोड ३७ लाख ८२ हजार २९ रुपैयाँ खर्च भएको आर्थिक प्रशासन शाखा प्रमुख रामचन्द्र घिमिरेले जानकारी दिए ।
नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रशासन र सामाजिक सुरक्षा शाखा प्रमुख विजय शर्मा, आर्थिक प्रशासन शाखा प्रमुख घिमिरे, शिक्षा शाखा सहायक प्रमुख जानुका गुरागाँई, राजस्व शाखा प्रमुख डेन्जनी आचार्य, स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत, पशुपंक्षी विकास शाखा प्रमुख पदमलाल राई, जिन्सी शाखा प्रमुख तिवेन्द्र अधिकारीलगायतले शाखाको प्रगति विवरण प्रस्तुत गरेका थिए । त्यसैगरी न्यायिक समितिको प्रगति विवरण नगर उपप्रमुखकी स्वकीय सचिव पुष्पा पौड्यालले प्रस्तुत गरेकी थिइन् ।
प्रमुख प्रशासकीय अधिकृत भुर्तेलले स्वागत मन्तव्य प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन प्रशासकीय अधिकृत शर्माले गरेका थिए ।