शिक्षा

आँखाको नानी प्रत्यारोपणबारे सचेतना

By admin

June 21, 2019

झापा । आँखाको नानी प्रत्यारोपणसम्बन्धी जनचेतनामुलक कार्यक्रम आज झापाको सुरुङ्गामा सम्पन्न भएको छ ।

झापाको सुरुङ्गास्थित प्यारागन एकाडेमी स्कुलको आयोजनामा आँखाको नानी प्रत्यारोपणसम्बन्धी जनचेतनामुलक कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । आफ्नो मृत्युपश्चात आँखा दान गरे दृष्टिविहीनहरुला संसार देखाउन सकिन्छ भन्ने उदेश्यले जनचेतनामुलक कार्यक्रमको आयोजना गरीएको हो ।

पछिल्लो समय आँखा दानप्रति मानिसमा सकारात्मक सोच बढ्दै गएको भए पनि मृत्युपछि आँखा दान गर्ने कार्यमा कोही पनि सक्रिय नभएको विद्यालयका शिक्षक अर्जुन उप्रेतीले बताए । उनले भने, ‘आफूले गरेको आँखा दानले कुनै व्यक्तिले नयाँ जीवन पाउनसक्छ भन्ने कुराको जानकार नहुँदा आँखा दान गर्नेको संख्या खासै देखिदैन ।’

प्रत्येक व्याक्तिको आँखाले २ जना दृष्टिविहीनले संसार देख्न सक्ने आँखा विशेषज्ञहरुको भनाइ छ । समाजमा सर्वसाधारणलाई आँखा दान महादान हो भन्ने कुरा बुझाउन र मृत्युपछि आँखाको नानी दान गरे धेरै दृष्टिविहीनले नयाँ जीवन पाउन सक्छन् भनेर जनचेतना फैलाउन आवश्यक रहेको मेची आँखा अस्पतालका प्रमुख सुरजकुमार रोनियरको भनाई छ ।

प्रविधिको विकास र सेवा विस्तार सँगसँगै जनचेतना अभिवृद्धिको माध्यमबाट आँखादानसम्बन्धी जनाचेतना फैलाउन आवस्यक रहेको कार्यक्रममा उपस्थितहरुको भनाई थियो ।

प्यारागन एकाडेमीको आयोजना र मेची आँखा अस्पतालको सहयोगमा ब्रिटिश काउन्सिल ईन्टरनेश्नल स्कुल अवार्ड प्रोजेक्ट नम्बर दुई अर्गेन एण्ड टिस्यु डोनेशन अन्तर्गत जनचेतनामुलक कार्यक्रममा सम्पन्न भएको हो ।

प्यारागन एकाडेमीकी संस्थापक अध्यक्ष चम्पा सुबेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यार्थीले जनचेतनामुलक नाटक तथा सांस्कसतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।