एजेन्सी- कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा उरुग्वेले चिलीलाई पराजित गरेको छ । उरुग्वेको १(० को जितमा एडिन्सन काभानीले खेलको अन्तिम समयमा गरेको गोल निर्णायक सावित भयो ।
काभानीले खेलको ८२ औं मिनेटमा विजयी गोल गरेका थिए । उनले जोनाथन रोड्रीग्वेजले पेंलैत क्षेत्र बाहिरबाट दिएको क्रसलाई ६ यार्ड बक्सनजिकबाट हेडरमार्फत गोल गरेका थिए । त्यसअघि ७०औं मिनेटमा चिलीले अग्रता लिने अवसर गुमाएको थियो । ७०औं मिनेटमा चिलीका डिआजले फ्लिक गरेको बलमा गोलरक्षक फर्नान्डो मुस्लेरा बिट भएपनि डिफेन्डर जोसे जिमिनेजले गोललाइनबाट बचाएका थिए ।
पहिलो हाफमा दुवै टोलीले रक्षात्मक खेल्दै काउन्टर अट्याकमा गोलको प्रयद गरेका थिए । पहिलो हाफको २ मिनेट समय बाँकी रहँदा उरुग्वेले गोल गर्ने मौका पाएको थियो । कर्नरमा एको बललाई काभानीले फ्लिक गरेपछि मार्टिन कासेरेसको प्रहारले पोस्टको दिशा लिन सकेन । त्यसअघि २३ औं मिनेटमा सुआरेजले गोलरक्षकलाई बिट गरेपनि प्रहार गर्न ढिलो गर्दा गोलरक्षक आरिआसले बचाऊ गरेका थिए ।
समूहको अर्को खेलमा जापान र इक्वेडर १-१ को बराबरीमा रोकिएपछि जापान समूह चरणबाट बाहिरिएको छ । जापानले शोया नाकाजिमाको गोलमा १५ औं मिनेटमा अग्रता लिएपनि इक्वेडर ३५ औं मिनेटमा गोल फर्कायो । इक्वेडरका लागि एन्जल मेनाले गोल गरेका थिए ।
यस समूहबाट उरुग्वे ३ खेलमा ७ अंकसहित शीर्षस्थानमा रहयो भने चिली ६ अंक बोक्दै उपविजेताको रुपमा अगाडी बढेको छ । जापान २ अंक र इक्वेडर १ अंकसहित प्रतियोगिताबाट बाहिरिएका छन् ।