समाज

कनकाई पुलमा बम राख्ने ५ जना सार्वजनिक

By admin

July 05, 2019

झापा । करिब डेढ महिनाअघि झापाको कनकाई पुल नजिकै प्रेसर कुकर बम राखेर आतंक मच्चाएको आरोपमा पक्राउ परेका पाँच जनालाई झापा प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ।

पक्राउ पर्नेहरूमा झापा गोलधाप गाविस हाल हल्दिबारी गाउँपालिका ७ भुल्का गाउँ बस्ने २७ वर्षीय दीपेश न्यौपाने, दमक नगरपालिका १ बस्ने ४२ वर्षीय सञ्जय खरेल भन्ने खगेन्द्र, संखुवासभा खादबारी नगरपालिका ८ हिंगुवा घर भई हाल मोरङ सुन्दरहरैचा नगरपालिका ७ दुलारी बस्ने २१ वर्षीय कमल कोइराला भन्ने लालमणि कर्णखर, सताक्षीधाम गाविस हाल शिवसताक्षी नगरपालिका-१०, सैनिक बस्ती बस्ने ६४ वर्षीय चौहान साइला भन्ने रामचन्द्र चौहान र मोरङ उर्लाबारी नगरपालिका १ झारसादी टोल बस्ने १९ वर्षीय मनिष माझी रहेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दीनेशकुमार मैनालीले जानकारी दिए।

पक्राउ परेका पाँचै जनालाई शुक्रबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो। एसपी मैनालीका अनुसार सुनसरी इटहरीबाट खरेल र कोइरालालाई बैशाख ३० गते र माझीलाई जेठ २ गते, झापाबाट न्यौपानेलाई बैशाख २९ र चौहानलाई बैशाख ३० गते पक्राउ गरेको बताए।

उनीहरूले गत वैशाख २९ गते बिहान कनकाई नगरपालिका ४ स्थित कनकाई नदीको पुलको डिभाइडरमा गोर्खा नेपाल जनमुक्ति मोर्चाको नामको पर्चासहित प्रेसर कुकुर बम राखेका थिए। मोर्चाले सुगौली सन्धिमार्फत नेपालले गुमाएको भूमि फिर्ता, २०४६ देखि अहिलेसम्मको विदेशीलाई दिएको अंगिकृत नागरिकता फिर्ता, संघीयता खारेज, भ्रष्टाचारीलाई कारबाही, निःशुल्क शिक्षा र उपचारसहितको माग राख्दै झापामा बम आतंक मच्चाएका थिए।

यता पक्राउ परेका पाँचैजनालाई विस्फोटक पदार्थ तथा संगठित अपराधसम्बन्धी मुद्दा दर्ता गराई कारबाही प्रक्रिया अघि बढाइसकेको एसपी मैनालीले जानकारी दिए।