खेलकुद

प्रदेश लिगलाई अरु कार्यक्रमको बजेटसँग नदाँजौँ : प्रवक्ता राई

By admin

July 11, 2019

धरान । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले मुख्यमन्त्री कप १ नम्बर प्रदेश लिग फुटबल प्रतियोगिता बजेट सक्नका लागि नभएको बताएका छन् । आज धरानमा पत्रकार सम्मेलन गरी उनले यस्तो स्पष्टीकरण दिएका हुन् ।

केही सञ्चारमाध्यममा बजेट सक्नका लागि प्रदेश सरकार र एन्फाले वर्षायाममा फुटबल प्रतियोगिताको आयोजना गरेको समाचार प्रकाशित भएपछि एन्फाका केन्द्रीय सदस्यसमेत रहेका प्रवक्ता राईले पत्रकार सम्मेलनमार्फत प्रष्टीकरण दिएका हुन् । उनले भने, ‘असारमै आयोजना चाहिँ भएको हो, तर बजेट सक्नका लागि भने प्रतियोगिता गरिएको होइन ।’

आयोजनाको क्वालिटीमा गम्भीर रहेको बताएका उनले खेलकुदका लागि पनि सिरियस रहेको पनि दाबी गरे । यस प्रतियोगितालाई अन्य योजनासँग दाँजेर नहेर्न आग्रह गरेका उनले असारमा हतारमा बजेट सक्न खोजेको होइन भन्ने प्रष्ट पारे । यस्ता प्रचारबाजीले फुटबलप्रेमीलाई निराशा बनाएको बताउँदै उनले थपे, ‘असारमा दुरुपयोग गरिएको भन्ने जुन आरोप छ, त्यसलाई चिर्न पनि हामी गम्भीर छौँ ।’

प्रतियोगिताबारे पारदर्शी अपनाउन सबै प्रक्रिया अघि बढाइएको बताउँदै फुटबलकै लागि इमान्दार भएर लागेको बताउँदै उनले बजेट पचाउन गरिएको भनाइप्रति प्रतिवाद पनि गरे ।

अर्को एक करोड लागतको अन्तर्राष्ट्रिय मुख्यमन्त्री कपका लागि प्रदेश सरकारको बजेट रहेको भन्दै उनले हतारमा गर्ने र बजेट पचाउने भए त्यो पनि सम्भव भएको सुनाए । उनले भने, ‘प्रतियोगिता स्तरीय गर्नका लागि पनि हामी गम्भीर छौँ, त्यसको पनि कमिटी र कार्यविधी बनिसकेको थियो तर यस आवमा सम्भव भएन र पोस्टपोण्ड भएको छ ।’

प्रदेश लिग गर्न समय ढिला भएको स्वीकारेका उनले जिल्लामा लिगका खेलहरु ढिलै भएकाले पनि प्रदेशमा पनि ढिला भएको दाबी गरे । फाइनल चरणमा झारो टार्ने काम गर्ने भए जहाँ पनि गर्न सकिने बताएका उनले प्रतियोगिता स्तरीय बनाउन पनि धरानमा सारिएको उनले प्रष्ट पारे । ‘क्वालिटीसँग हामी कम्परमाइज नगरीकन पहिलो राउण्ड सम्पन्न गरिसकेका छौँ’, उनले भने ।

झारा टार्ने काममात्रै भएको भए विराटनगरकै अन्य मैदानमा फाइनल चरण गर्न सकिने भन्दै उनले प्रतियोगितालाई स्तरीयता प्रदान गर्न धरान सारिएको उनले दोहोर्याए । लिग प्रतियोगिताको मापदण्डअनुसार नै भौतिक संरचना भएको रंगशालामै फाइनल चरण गरेर प्रतियोगितालाई स्तरीयता प्रदान गर्न खोजिएको उनको भनाइ थियो ।