विराटनगर- अबिरल वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढ्ने क्रम अझै जारी छ । पछिल्लो पटक गरिएको मापन अनुसार कोसीमा २ लाख ४६ हजार ८ सय क्युसेकभन्दा बढी पानीको बहाव देखिएको छ ।

पानी बढिरहेपछि निकास दिनका लागि कोसी ब्यारेजका ५६ मध्ये ३३ वटा ढोका खोलिएको स्थानीय प्रशासनले जनाएको छ। पानीको बहाव धेरै भएपछि ब्यारेजमा सतर्कतासूचक रातो बत्ती बालिएको छ।

यसअघि हिजो साँझ गरिएको मापनमा पानीको बहाव २ लाख क्युसेकभन्दा बढी पाइएको थियो। त्यसबेला पानीलाई निकास दिन ब्यारेजका २९ वटा ढोका खुला गरिएको थियो। अहिले ५६ ढोकामध्ये ३६ ढोका खोलिएका छन्।

सुनसरीको चतरामा भएको पानीको बहाव शनिबार बिहान सतर्कता संकेतभन्दा माथि पुगेको छ। स्थानीय प्रशासनले कोसी वारिपारिका सुनसरी र सप्तरीका गाउँ बस्तीहरुमा सतर्कता अपनाउन आग्रह गरेको छ।

यसैबीच, भारतको बिहार जलमग्न भएपछि भारतले ढोका बन्द गर्न दबाब दिइरहेको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताए।

वर्षा निरन्तर जारी रहेकाले सप्तकोसीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले कोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ।

यसैबीच आज प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले कोशी ब्यारेज तथा सुनसरीका बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन्।